संगालोखबर सम्बाददाता

धनकुटा । धनकुटामा बुधबार अपरान्ह बर्षासँगै परेको चट्याङ्ग लागेर दुई जना घाइते भएका छन् । चार वटा चौपाया मरेका छन् भने चट्याङ्ग पर्दा विद्युत सर्ट भई दुई वटा घरमा आगो लागेको छ ।

Advertisement

धनकुटा नगरपालिका र चौबिसे गाउँपालिकामा चट्याङ्ग लागेर एक/एक जना घाइते भएको र महालक्ष्मीमा चट्याङ्गले घरमा आगो लागेको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी नरेन्द्र कुँवरले जानकारी दिए । उनका अनुसार अपरान्ह करिब ४ः३० बजे चट्याङ्ग लागेर धनकुटा नगरपालिका–१० की तारा कार्की घाइते भएकी छन् । घरमै चट्याङ्ग पर्दा त्यसको झिल्काले ५० बर्षीय कार्की घाइते भएकी हुन् । धनकुटा जिल्ला अस्पतालमा घाइते कार्कीको उपचार भइरहेको छ । चट्याङ्गका कारण एउटा गाई र एउटा बाख्रा पनि मरेका छन् ।

त्यस्तै, चौबिसे गाउँपालिका–१ पोखरीमा पनि चट्याङ्ग लागेर एक जना घाइते भएका छन् । पानी पर्न थालेपछि गोठमा त्रिपाल ओढाउने क्रममा चट्याङ्ग पर्दा स्थानीय चन्द्रकुमार श्रेष्ठ घाइते भएका हुन् । चट्याङ्गले ३२ वर्षीय श्रेष्ठको वाँया हातमा चोट लागेको छ भने लगाएको कपडा पनि जलेको छ । स्थानीय मेडिकलमा उनको उपचार भइरहेको छ । चट्याङ्गले श्रेष्ठको गोठमा रहेका गाई र बाछी पनि मरेका छन् ।

यता, चट्याङ्ग पर्दा विद्युत सर्ट भई महालक्ष्मी नगरपालिका–४ का ज्ञानबहादुर खड्काको घरमा आगो लागेको छ । अपरान्ह करिब ४ बजे लागेको आगोले घरसहित घरभित्र रहेका सबै सामान जल्दा ६ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । ज्ञानबहादुरको घरमा लागेको आगो फैलँदा छिमेकी खेलबहादुर खड्काको घर पनि जलेको छ । आगलागीबाट खेलबहादुरको घरमा ७ लाख बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

लामो समयपछि बुधबार धनकुटामा असिनासहितको वर्षा भएको हो । वर्षाले फाइदा पुर्याएपनि असिना र चट्याङ्गले क्षति पुर्याएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!