संगालोखबर सम्वाददाता

विराटनगर । जमरकटेल बंश एकता प्रतिष्ठानले विराटनगर–१९ स्थित बैजनाथपुरमा सामुदायिक भवन निर्माण गर्ने भएको छ । जमरकटेल बन्धुहरूले करिब दुई करोडको लागतमा सुविधासम्पन्न सामुदायिक भवन निर्माण गर्ने भएका हुन् ।

Advertisement

बैजनाथपुरस्थित प्रतिष्ठान क्षेत्रमा बन्ने सामुदायिक भवनको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले शिलान्यास गरेका छन् । सामुदायिक भवन निर्माणका लागि महानगरले पनि पाँच लाख रकम प्रदान गरेको छ । भवन शिलान्यास कार्यक्रममा बोल्दै मेयर कोइरालाले आगामी आर्थिक वर्षमा महानगरले थप आर्थिक सहयोग गर्ने प्रतिवद्धता जनाए । ‘जमरकटेल बन्धुहरू एकताबद्ध भएर सामुदायिक भवन बनाउँन जुट्नुभएको छ, यो एकदमै राम्रो कुरा हो,’ मेयर कोइरालाले भने, ‘सामुदायिक भवनका लागि यसपटक थोरै मात्र सहयोग गरिएपनि आगामी बर्ष महानगरले थप सहयोग गर्नेछ ।’

कार्यक्रममा जमरकटेल वंश एकता प्रतिष्ठानका अध्यक्ष कुमारमणी जम्मरकटेल, उपाध्यक्ष द्वय कृष्णप्रसाद जमरकटेल, थिरप्रसाद जमरकटेल र महासचिव उदयप्रसाद जमरकटेलले बन्धुहरू एकतावद्ध भएर सामुदायिक भवन निर्माणमा जुटेको भन्दै यसका लागि सहयोग गर्न सबैमा आग्रह गरे । जमरकटेल बंश एकता प्रतिष्ठानका सल्लाहकार एवं व्यवसायी राजु जमरकटेलले प्रतिष्ठानका लागि केही वर्षअघि बैजनाथपुरमा दुई कठ्ठा जग्गा प्रदान गरेका थिए । सोही जग्गामा सामुदायिक भवन बनाउँन लागिएको जमरकटेल बंश एकता प्रतिष्ठानका सचिव रविन कटेलले जानकारी दिए ।

उनका अनुसार भवनमा विभिन्न कार्यक्रम गर्न मिल्ने करिब तीन सय मानिस अट्ने क्षमताको सुविधासम्पन्न सभाहल बनाइनेछ । सो सभाहल जमरकटेल वंश एकता प्रतिष्ठानको प्रयोजनमा मात्र नभई कार्यक्रम गर्न अरुलाई पनि उपलब्ध गराइनेछ । दुई कठ्ठा क्षेत्रफलमा बन्ने सामुदायिक भवनमा तल्लो तला सभाहल हुनेछ भने दोस्रो तलालाई प्रतिष्ठानको प्रशासनिक काममा प्रयोग गरिनेछ । पर्याप्त पार्किङ क्षेत्रको व्यवस्था पनि मिलाइनेछ ।

कोशी प्रदेशमा मात्र करिब २० हजारको सङ्ख्यामा जमरकटेलहरु छन् । महानगर लगायत सरकारी निकायहरूबाट थप सहयोग माग गर्ने र जमरकटेल बन्धुहरुबाट सहयोग संकलन गरेर सामुदायिक भवन निर्माण गरिने प्रतिष्ठानका अध्यक्ष कुमारमणी जमरकटेलले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!