- संगालोखबर सम्वाददाता

धनकुटा, ८ भदौ । धनकुटामा ११ हजार मतदाता थपिएका छन । साउन १ देखि भदौ ३ गतेसम्म गरिएको फोटोसहितको मतदाता नामावली संकलनका क्रममा ११ हजार ४ सय २७ जनाले नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

नाम दर्ता गराउँनेमा ५ हजार ८ सय ९६ पुरुष र ५ हजार ५ सय ३१ महिला रहेको जिल्ला निर्वाचन कार्यालयका सुचना अधिकारी केशव पौडेलले संगालोखबरलाई जानकारी दिएका छन ।

साउन १ गतेदेखि जिल्ला निर्वाचन कार्यालयमा मतदाता नामावली संकलन थालिएको थियो । साउन १६ बाट भने तीन नगरपालिका र चार गाउँपालिका गरी जिल्लाका सातवटै स्थानीय तहबाट नामावली संकलन गरिएको हो ।

जिल्ला निर्वाचन कार्यालयमा मतदाता नामावलीमा नाम दर्ता गरिदै । तस्वीर: रबिन कटेल/संगालोखबर

जसमा सवैभन्दा बढी जिल्ला सदरमुकाम स्थित निर्वाचन कार्यालयबाट ४ हजार ७ सय जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन । त्यस्तै सवैभन्दा कम साँगुरीगढी गाउँपालिकाबाट ७ सय ५२ जनाले नाम दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ ।

धनकुटा नगरपालिका स्थित जिल्ला निर्वाचन कार्यालयमा ३५ दिन र वाँकी ६ वटा स्थानीय तहमा २० दिन नामावली संकलन गरिएको थियो । २० दिनको अवधिमा सवैभन्दा बढी महालक्ष्मी नगरपालिकाबाट १ हजार ४ सय ५७ जनाले मतदाता नामालीमा नाम दर्ता गराएका छन ।

आगामी मंसीर १० गते हुने प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गरी फोटोसहित मतदाता नामावली संकलन गरिएको हो । यसअघि धनकुटामा ९५ हजार ३ सय ७१ जना मतदाता थिए । अव नयाँ थप भएपछि जिल्लामा १ लाख ६ हजार ७ सय ९८ जना मतदाता भएका छन ।

मतदाता नामावली संकलनको भिडियो हेर्नुहोस्…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!