- संगालोखबर सम्वाददाता

काठमाडौं । नेपाली कांग्रेसका उम्मेद्वार रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएका छन् । बिहीबार अपरान्ह सम्पन्न निर्वाचनको मतगणना अनुसार ३३ हजार ८ सय २ मतभारसहित पौडेल राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

गठबन्धनको तर्फबाट उम्मेद्वार बनेका पौडेलले सङ्घतर्फ १६ हजार ९ सय ६ र प्रदेशतर्फ १६ हजार ८ सय ९६ मतभार पाएका छन् । उनलाई २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदले मत दिएका हुन् ।

नेपाली कांग्रेससहित नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदले पौडेलको पक्षमा मतदान गरेका छन् ।

एमाले उम्मेद्वार सुवासचन्द्र नेम्वाङले १५ हजार ५ सय १८ मतभार पाएका छन् । नेम्वाङले सङ्घतर्फ ७ हजार ७ सय ४२ र प्रदेशतर्फ ७ हजार ७ सय ७६ मतभार पाएका हुन् ।

राष्ट्रपति निर्वाचनमा संघीय सांसद र प्रदेश सांसद मतदाता हुन्छन् । सङ्घीय सांसदको मतभार ७९ र प्रदेश सांसदको मतभार ४८ हुन्छ । निर्वाचनमा ३१३ संघीय सांसद र ५१८ प्रदेश सांसद गरी ८३१ सांसदले मतदान गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!