- रबिन कटेल/संगालोखबर
पेट्रोल नपाएपछि शनिमन्दिरस्थित पम्प अगाडि मोटरसाइकल डोर्याउँदै एक युवा । तस्वीर : रबिन कटेल/संगालोखबर

विराटनगर । विराटनगर महानगर क्षेत्रका सबै पेट्रोल पम्पहरू मंगलबार बिहानदेखि बन्द हुँदा सवारी साधनमा तेल हाल्न नपाएर सर्वसाधारण समस्यामा परेका छन् । होलीमा मादक पदार्थ सेवन गर्नेहरुबाट असुरक्षाको कारण देखाउँदै कुनैपनि पेट्रोल पम्प नखुल्दा एम्बुलेन्ससहित आकस्मिक सेवाका सवारी साधनहरूले पनि तेल हाल्न पाएका छैनन् ।

जसका कारण कतिपय सवारी साधनहरू तेल सकिएर बिच बाटोमै अलपत्र परेका छन् । तेल भर्नुपर्ने अवस्थामा पुगेका एम्बुलेन्ससहितका आकस्मिक प्रयोजनका सवारीको सेवा पनि प्रभावित भएको छ । विराटनगर महानगर क्षेत्रमा १७ वटा पेट्रोल पम्प छन् । सबै पम्प मंगलबार बिहानदेखि खुलेका छैनन् । कतिपय पम्प सोमबार साँझदेखिनै बन्द छन् । व्यवसायीहरूका अनुसार अब बुधबार बिहान मात्र पम्प खुल्नेछन् । एकैसाथ सबै पेट्रोल पम्प बन्द हुँदा समस्या भएको हो ।

Advertisement

बाइकमा पेट्रोल सकिएपछि मंगलबार दिउँसो विराटनगरका पेट्रोल पम्प चहार्दै गरेका सुनसरीको दुहवी-१० का सियाचन्द्र ऋषिदेवले सबै पेट्रोल पम्प बन्द हुँदा तेल हाल्न नपाएर घर फर्किन नसकेको गुनासो गरे । ‘काम परेर विराटनगर आएको थिए, यहाँ आइपुग्दा बाइकमा पेट्रोल सकियो, सबैतिर खोजिसके कुनै पनि पम्प खुल्ला छैनन्,’ मुनालपथस्थित पेट्रोल पम्पमा भेटिएका ऋषिदेवले संगालोखबरसँग भने, ‘बाइकमा पेट्रोल हाल्न नपाएर घर जानै पाइन, सारै समस्या भयो ।’

यता, शनिमन्दिर नजिक पेट्रोल पम्पमा भेटिएका विराटनगरको जनपथ टोलका सुजन रौनियारले पनि पेट्रोल पम्प बन्द हुँदा समस्या परेको गुनासो सुनाए । ‘जोगवनी गएर आमाको औषधि ल्याउनु पर्ने थियो, बाइक रिजर्व लागेकाले तेल हाल्न सबै तिर खोजिसके कतै पनि पम्प खुल्ला छैनन्,’ रौनियारले भने, ‘यत्रो विराटनगरमा कुनै न कुनै त पम्प खोल्नु पर्ने हो नि, यसरी सबैले एकैचोटी बन्द गर्दा समस्या भयो ।’

तेल हाल्न नपाएर कतिपय एम्बुलेन्सले बिरामी बोक्न समस्या भएको संयुक्त एम्बुलेन्स चालक संघका केन्द्रिय सचिव चन्द्र पराजुलीले बताए । ‘नोबेल अस्पतालबाट डिस्चार्ज भएको बिरामी सङ्खुवासभा लैजानलाई एम्बुलेन्समा तेल हाल्न खोज्दा सबै पम्प बन्द भएकाले तेल हाल्न पाइएन,’ पराजुलीले भने, ‘यसरी त समस्या हुन्छ, जस्तो सुकै अवस्थामा पनि कम्तिमा एक दुई वटै भएपनि पम्प खोल्ने वातावरण मिलाइनुपर्छ ।’ सबै पेट्रोल पम्प बन्द हुँदा मंगलबार विराटनगरमा सयौँ मानिसले सास्ती व्यहोरेका छन् ।

होलीमा मादक पदार्थ सेवन गरेर तेल भर्न आउँनेहरुले लफडा गर्ने भएकाले असुरक्षाका कारण पेट्रोल पम्प बन्द गर्नु परेको महेन्द्र चोकस्थित रघुनाथ राय राधा कृष्ण डिलरका सञ्चालक अरविन्द अग्रवाल बताउँछन् । शनिमन्दिरस्थित पूर्वाञ्चल आयल सप्लायर्सका महेश अग्रवाल पनि कर्मचारी बिदामा बस्ने र होलीमा असुरक्षा पनि हुने भएकाले पम्प बन्द गरिएको तर्क गर्छन् ।

यता, मोरङका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले पम्पहरुले असुरक्षाको समस्या जानकारी नगराएको भन्दै कुनैपनि वाहनामा अत्यावश्यक सेवा प्रभावित गर्न नहुँने बताए । उनले तत्काल पम्प खोल्न व्यवसायीहरुलाई निर्देशन दिने बताएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!