- ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)

बि.सं. २०७९ फागुन २२ गते सोमवार ई.सं.२०२३ मार्च ६ नेपाल सम्बत ११४३ चिल्लाथ्व चतुर्दशी, नल नामक संवत्सर, सूर्य उत्तरायणं शिशिर ऋतु, फाल्गुण शुक्ल चतुर्दशी, चन्द्रमा सिंह राशिमा मघा नक्षत्र, सुकर्मा योग, वणिज करण । नेपालमा सूर्योदय बिहान ६ः२३ बजे, सूर्यास्त साँझ ६ः०७ बजे हुनेछ । आज जन्म लिने बच्चा सिंह राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पूरा शरीर ऐनामा हेरेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०६ बजेर २३ मिनेट देखि ०७ बजेर ५१ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । आज फागु पूर्णिमा रहेकोले (पहाडी जिल्ला बिदा) सम्पूर्णलाई शुभकामना व्यक्त गर्दछु । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
पूर्वअनुभव र सीपप्रति आशावादी बन्ने दिन हो, कर्मप्रति समर्पित हुनुपर्छ, आइपर्ने विघ्नबाधा र अवरोधमाथि समेत नजर राख्न नबिर्सनु होला । जीवनसाथी र छोराछोरीका क्रियाकलापमा चिन्ता बढ्नेछ, नातागोताको के महत्त्व छ भन्ने बुझी आज नेटवर्किङ र सामाजिक सञ्जालमा पनि सक्रियता बढ्नसक्छ । लगनशीलता र परिश्रमको प्रतिफल पाउने समय हो, परीक्षा वा प्रतियोगितामा सामेल हुनुछ भने अझ बढी मिहिनेत गर्नु ठीक हुन्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
आपसी तालमेल र पारिवारिक सम्बन्धलाई हरसम्भव सुदृढ बनाउन प्रयास गर्ने दिन हो, आवश्यक भएमा बन्धुवान्धव वा साथीभाइको सहयोग लिन सकिन्छ, अथवा आफन्तका निमित्त पनि समय दिनुपर्ने हुन्छ । आत्मविश्वासमा बृद्धि हुनेछ तर कामको चाप बढ्ने समय हो, तथापि साथीभाइको सहयोग लिएर काम गरेमा सबै काम पूरा गर्न सकिने छ । शङ्कालु बानी र विश्वासको कमीले आपसी समन्वय कमजोर बन्नसक्छ । भावनाप्रधान दिन हो, सकेसम्म एकअर्काप्रति समर्पित हुनु बुद्धिमानी हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
हर्षित हुने समाचार आउने छ, सानो प्रयासले मात्र भाग्य बढ्ने समय छ, त्यसैले मिहिनेत गरेर आम्दानीका मार्ग सुधार्न सकिने छ । कतिपय आर्थिक समस्या सञ्चारसम्पर्कबाट नै हल गर्न सकिने छ । सञ्चार क्षेत्र, वित्तीय कारोवार, यातायात, ढुवानी र मार्केटिङको व्यवसायमा विशेष लाभ देखिन्छ । मान्यजनसँग निकटता बढ्ने वा उहाँहरूलाई आदरभाउ गर्नुपर्ने दिन हो । दाजुभाइ वा माइतीपक्षसँग समेत सम्पर्क गरी भलाकुसारी गर्नु ठीक हुन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
परीक्षा वा प्रतियोगिताका दृष्टिकोणले अनुकूल दिन छ । कुनै नौलो विषयको जानकारी लिएमा भविष्यमा राम्रो उपलब्धि लिन सकिने छ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने दिन हो, सेयरमा रुचि छ भने अनुभवीको राय लिएर लगानी गर्न सक्नुहुन्छ, साथै स्थिर प्रयोजनको धनमा समेत लगानी बढाउने दिन हो । व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन सकिने छ, नचिताएको वा बिर्सिएर बाँकी रहेको धन अचानक हातमा आइपुग्न सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
मानसिक शान्तिको आभास हुनेछ, पार्टनरले तपाईंको भावना बुझ्नेछन्, कतै एकान्त स्थलमा बसेर भावना साटासाट गर्न र रमाउन पाइने छ । आशा देखाउने वा आश्वासन दिनेले धोका दिनेछन्, आफ्ना सुरमा काम गर्ने वेला हो, कुनै लफडा वा झमेलामा फँस्ने सम्भावना रहेको छ । परिवारमा सुखसुविधाको जोहो गर्ने समय हो, फुटकर सामाग्रीका विक्रेता र खाद्यसामाग्रीको कारोबार छ भने अझ राम्रो गर्न सकिने छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
खर्चको मात्रा बढ्नुका साथै वैचारिक अस्थिरता देखिने दिन छ, तथापि सँगीसाथीको मद्दत लिएर हिम्मतका साथमा प्रयास गरेमा पेसागत र व्यवसायिक परिस्थितिमा सुधार आउने छ । आम्दानीमा उतारचढाव आउने दिन हो, सामान्य मानेको लापरवाहीले समेत दण्ड/जरिवानामा पर्न सकिन्छ, जतिसक्दो आफ्नो कारोबारमा ध्यानकेन्द्रित गरेको जाती हुन्छ । परिस्थितिलाई बुझेर चल्न जान्नुपर्छ, किनकि सोचेभन्दा बढी खर्च हुनाले बजेट सन्तुलनमा नरहन सक्छ, आपसी सम्बन्धमा पनि मनोमालिन्य बढ्ने दिन हो ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
घरमा अभिभावकवर्ग तथा कार्यक्षेत्रमा सिनियर्सका तुलनामा जुनियर्स वा भाइबहिनीको सहायता पाउन सकिने दिन हो । अझ राजनीति वा समाजसेवा नै कार्यक्षेत्र हो भने नेतृत्वदायी भूमिका वहन गर्नु पर्नेछ । विगतमा गरिएको मिहिनेत र लगनशीलताको पुरस्कार प्राप्त हुने सुन्दर दिन हो, बोनस वा अतिरिक्त आम्दानीको सम्भावना पनि रहेको छ । सबै कार्य योजनानुसार सम्पन्न हुँदै जानेछन्, आपसी समन्वय र आन्तरिक सुख बढ्ने समय छ, पार्टनरसँग सानोतिनो यात्राको कार्यक्रम बन्नसक्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
सामाजिक र राजनैतिक हैसियत निर्माणका दिशामा केही लगानी गर्नुपर्ने हुन्छ । प्रशासनिक वा सरकारसम्बद्ध कुनै काम सुल्झाउन उपयोगी समय छ । घरायसी रमझम र कामधामबाट फुर्सद निकाल्न सकिंदैन, कामकाजी महिलाले कार्यक्षेत्रमा उन्नति गर्नेछन्, तर पनि पारिवारिक जिम्मेबारी बढिरहने समय हो । कुनै नयाँ विषयवस्तु वा प्राविधिक ज्ञानले आकर्षण गरेको समय छ, परिश्रम गर्ने छात्रछात्राले उत्कृष्ट परिणाम प्राप्त गर्नेछन् ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
सामाजिक कार्यमा प्रतिष्ठा र सम्मान मिल्ने तथा माङ्गलिक कर्मप्रति अभिरुचि जाग्ने राम्रो दिन छ । भ्रम, चिन्ता वा शङ्काको निवारण हुनेछ । आजको दिन तपाईंको आफ्नै हातमा छ, प्रयास गरेमा राम्रो उपलब्धि हासिल हुने तथा अल्छी गरेमा सुनौलो अवसर पनि गुम्नसक्ने समय हो । सफलता चाहनेले समस्या पहिल्याउनमा होइन, समाधान खोज्नमा ध्यान केन्द्रित गर्नुपर्छ, भविष्य सुध्रनुका साथै ठोस आम्दानीसमेत हासिल हुनसक्छ । तपाईंले केवल प्रयास गर्ने हो, भाग्यले नचिताएको उपलब्धि प्रदान गर्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
असहजता बीचमा कामको चाप बढ्ने दिन हो, स्वभावगत कमजोरी वा उदार मनोवृत्तिको प्रयोग गरी अरुले नाजायज फाइदा उठाउन सक्छन् । पार्टनरको चासो र चिन्तामा मात्र केन्द्रित हुने समय होइन, केही समय आफ्नो मनको खुसी र सुस्वास्थ्यका निम्ति छुट्याएको राम्रो हुन्छ । लड्ने वा चिप्लने डर भएकाले सचेत हुनुपर्ने दिन हो, घरपरिवारमा सम्पर्क राखी खरखाँचोका बारेमा पनि जानकारी बटुल्नु ठीक हुन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
भावनामा वहने समय छ, बिर्सने बानीले पनि कतिपय काममा बिलम्ब हुनसक्छ, कामप्रतिको लगावमा कमी आउनाले वरिष्ठ कर्मचारी रिसाउन सक्छन् । प्रेमभाव प्रकट गर्न अनुकूल समय छ, पार्टनरको इच्छानुसार चल्नुपर्दा कार्यक्षेत्रमा समस्या आउने भएकाले महत्त्वपूणर् काम बेलैमा गरिहाल्नु ठीक हुनेछ । दाम्पत्य जीवनमा किचलो र विवादको योग बनेको छ, लामो समयदेखि घरमा सम्पर्क छैन भने फुर्सद निकालेर कुराकानी गर्नु ठीक हुन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
दैनिक कामहरू सजिलै सम्पन्न हुनेछन्, होचोहेला गर्ने र कुरा काट्नेहरू आफै चुप लाग्नेछन्, तथापि झगडा र कलहबाट टाढिएको जाती हुन्छ । प्रतिस्पर्द्धा र परीक्षामा सफलता पाउने दिन हो, तर राम्रो रिजल्टको चाहना छ भने गोप्य ढंगले तैयारी गरेको राम्रो हुन्छ । प्रतिष्ठा प्राप्त गर्न प्रतिस्पर्द्धा गर्ने दिन हो । चिन्तनमननमा निर्लिप्त हुने परिस्थिति पनि बन्नेछ, कुनैकुनै विषयमा बेकारको तर्क वा बहस हुनसक्ने दिन हो, त्यसैले मुखमा लगाम लगाएकै जाती हुन्छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!