- संगालोखबर सम्वाददाता
यसअघि सहिदभूमिबाट बरामद भएको गाँजा । फाइल तस्वीर: संगालोखबर

धनकुटा । धनकुटाबाट फेरि ठूलो परिमाणमा गाँजा बरामद भएको छ । सहिदभूमिबाट ४ सय किलो गाँजा बरामद भएको तीन साता नबित्दै साँगुरीगढी गाउँपालिकाबाट १०६ किलो गाँजा बरामद भएको हो ।

साँगुरीगढी–८ स्थित सडकमा रोकिराखेको को १ ज १८११ नम्बरको पिकअपमा गाँजा फेला परेको धनकुटाका प्रहरी प्रमुख एसपी कृष्णप्रसाद कोइरालाले बताए । ‘राती करिब २ बजेतिर चेकजाँच गर्दा रोकिराखेको पिकअपमा गाँजा भेटिएको हो,’ एसपी कोइरालाले भने, ‘पक्राउ पर्ने डरले गाडी छोडेर चालक भागेको अनुमान गरेका छौं ।’

Advertisement

इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले गाँजा बरामद गरेको हो । गाँजा कहाँबाट ल्याइएको र कहाँ लैजाँदै गरेको खुलेको छैन । यसअघि गत माघ २८ गते सहिदभूमि गाउँपालिका–४ बाट को १ ज ३११८ नम्बरको पिकअप गाडीमा ४ सय किलो गाँजा बरामद भएको थियो । त्यसको २१ दिनपछि पुनः पिकअप गाडीमै लैजाँदै गरेको अवस्थामा ठूलो परिमाणमा गाँजा बरामद भएको हो ।

धनकुटाको सहिदभूमि गाउँपालिकासहित केही स्थानमा व्यवसायिक रूपमै गाँजा खेती हुने गरेको छ । त्यहाँ उत्पादन भएको गाँजा बिक्रीका लागि अन्यत्र लैजाने क्रममा पटक–पटक गाँजासहित मानिस पक्राउ पर्ने गरेका छन् । गाँजाको कारोबारमा कतिपय प्रहरीको समेत मिलेमतो देखिएका घटना पनि यसअघि बाहिरिएका थिए । सोही विषयमा केही वर्षअघि धनकुटाका केही प्रहरी कारबाहीमा पनि परेका छन् ।

धनकुटाबाट जाँदै गरेको कारमा पनि गाँजा 

धनकुटाबाट धरानतर्फ जाँदै गरेको कारमा पनि ४१ किलो गाँजा बरामद भएको छ । वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान उपमहानगरपालिका–१३ बाट गाँजासहित दुई जनालाई पक्राउ गरेको हो ।

कार चालक धरान–१६ का ४० वर्षीय सुकेन्द्र लिम्बू र कारमा सवार धनकुटाको पाख्रीवास–९ घर भई धरान–१७ बस्दै आएका २८ वर्षीय नवीन राईलाई गाँजासहित प्रहरीले नियन्त्रणमा लिएको हो । गाँजा ओसार्दै गरेको सूचना पाएर बा १३ च २६८ नम्बरको कारलाई रोकेर चेकजाँच गर्दा लुकाएर राखेको अवस्थामा गाँजा फेला परेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । गाँजा ओसार्ने व्यक्तिलाई नियन्त्रणमा लिएर प्रहरीले उनीहरूको कारोबारका विषयमा थप अनुसन्धान गरिरहेको छ ।

यता, उदयपुरको कटारी नगरपालिका–१ बाट पनि प्रहरीले २२ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ । प्रदेश २–०१–००१ प १५२६ नम्बरको स्कुटरमा गाँजा भेटिएपछि स्कुटरमा सवार सिरहाको मिर्चैया नगरपालिका–४ का २२ वर्षीय ललित सिंहलाई प्रहरीले गाँजासहित पक्राउ गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!