- संगालोखबर सम्वाददाता

विराटनगर । विराटनगर महानगरपालिकाले सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउँन थालेको छ । सडक क्षेत्रभित्र परेका संरचना हटाउन पटकपटक आग्रह गर्दा पनि नटेरेकाले डोजर लगाएर भत्काउँन थालिएको महानगरले जनाएको छ ।

सडक मापदण्डमा परेका संरचना हटाउन पटकपटक आग्रह गर्दा पनि अटेर गरेपछि महानगरले डोजर लगाउनु परेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले बताए । संरचना नहटाउँदा महानगरका विभिन्न साँघुरा सडकहरूको विस्तारमा समस्या भएको छ ।

केही दिनअघि बसपार्क दक्षिण–पूर्वमा रहेको सडक मापदण्डमा परेको संरचना हटाएको महानगरले वडा नम्बर १ स्थित वारुणयन्त्र उत्तरको सडकको संरचना पनि हटाएको छ । स्थानीय विनोद रिजालको स्वामित्वमा रहेको गोदाम घर, पर्खाल तथा १ नम्बर वडा कार्यालयको पर्खाल, खानेपानी कार्यालयलगायतका संरचना भत्काइएको छ ।

 

यस्तै महानगरको टोलीले हाट खोला चोकदेखि पुलसम्मको सडक मापदण्डमा परेका संरचनासहित आसपासका टहरासमेत हटाएको छ ।

विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा कसैसित पनि सम्झौता नहुने महानगरका मेयर नागेश कोइरालाले बताउँदै आएका छन् । सडक मापदण्डमा परेका संरचना हटाएर विराटनगरलाई व्यवस्थित बनाउने अभियानमा साथ दिन मेयर कोइरालाले महानगरवासीलाई आग्रहसमेत गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!