रबिन कटेल

विराटनगर । प्रदेश १ लाई कोशी प्रदेश नामकरण गरिएको खुशियालीमा बिहीबार साँझ प्रदेशका बिभिन्न स्थानमा दीप प्रज्वलन गरिएको छ । प्रदेश सभाको दुई तिहाइ भन्दा बढी मतले प्रदेशको नामकरण गरेपछि प्रदेशवासीले खुशियाली मनाउँदै दीप प्रज्वलन गरेका हुन् ।

Advertisement

मोरङको उर्लाबारी–३ मङ्गलबारेमा युवाहरूले दीप प्रज्वलन गरेर कोशी प्रदेश नामकरण प्रति खुशियाली मनाएका छन् । उनीहरूले कोशी प्रदेशको नक्सा बनाएर सोही नक्सामा दीप प्रज्वलन गरेका हुन् । यता, विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा पनि विद्यार्थीहरूले दीप प्रज्वलन गरेका छन् । अनेरास्ववियु सम्बद्ध विद्यार्थीहरूले दीप प्रज्वलन गरेर कोशी प्रदेश नामकरणलाई स्वागत गरेका छन् ।

कोशी प्रदेश नामकरणको खुशियालीमा बिहीबार साँझ मोरङको उर्लाबारी–३ मङ्गलबारेमा दीप प्रज्वलन गरिदै । तस्बीर: कुमार खड्का

विराटनगरको रोडशेष चोकमा पनि दीप प्रज्वलन गरिएको छ । अप्पन ब्राह्मण समाजले चोकमा दीप प्रज्वलन गर्दै कोशी प्रदेश नामकरण प्रति खुशियाली मनाएको हो । कोशी प्रदेश नामकरणको खुशियालीमा सुनसरीको इनरुवामा पनि दीप प्रज्वलन गरिएको छ । नेविसंघ सम्बद्ध विद्यार्थीहरूले इनरुवा चोकमा दिपावली गरेका हुन् । प्रदेशका अन्य स्थानमा पनि दीप प्रज्वलन गरेर खुशियाली मनाइएको छ ।

यता, पहिचानको आधारमा नामकरण गर्नुपर्ने आवाज उठाउँदै आएकाहरूले कोशी प्रदेश नामकरण गरिएको प्रति बिभिन्न ठाउँमा विरोध जनाएका छन् ।

बुधबार बसेको प्रदेश सभा बैठकले प्रदेशको नामकरण गरेको हो । ९३ सांसद रहेको प्रदेश सभामा कोशी प्रदेशको पक्षमा ८२ सांसदले मतदान गरेका छन् । विपक्षमा ४ मत मात्र खस्यो भने ६ सांसद मतदानमा अनुपस्थित थिए । प्रस्ताव गरिएको अर्को ‘किरात लिम्बुवान सगरमाथा’ नामलाई प्रदेश सभाको बहुमतले अस्वीकृत गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement