- संगालोखबर सम्वाददाता

विराटनगर । विराटनगरमा नगर बस सञ्चालन गरिने भएको छ । सर्वसाधारणलाई सहज आवागमनका लागि महानगरले सिटी बस सञ्चालन गर्ने भएको हो ।

Advertisement

नगर बस सञ्चालनका लागि महानगरको कार्यपालिका बैठकले निर्णय गरिसकेको छ । निजी क्षेत्र र लगानी बोर्डसँगको साझेदारीमा सिटी बस सञ्चालन गर्ने महानगरको तयारी छ । मिलन चोक, ढाट, केशलियालगायत विभिन्न रुटबाट प्रारम्भिक चरणमा १९ वटा सिटी बस सञ्चालन गरिने महानगरले जनाएको छ ।

बस सेवा सञ्चालनका लागि प्रारम्भिक चरणको रुट परीक्षण पनि गरिएको छ । महानगरको सडक र मोडहरूमा कति क्षमताका बस सञ्चालन गर्नु उपर्युक्त हुन्छ भन्ने जानकारी लिन रुट परीक्षण गरिएको महानगरकी उपमेयर एवं कार्यबाहक मेयर शिल्पा निराला कार्कीले बताइन् । ‘कुन-कुन रुटमा कति साइज र क्षमताको बस सञ्चालन गर्न सहज हुन्छ भनेर जानकारी लिन रुट ट्रायल गरेका हौं,’ कार्कीले भनिन्, ‘अब दुई/तीन महिनाभित्रै नगर बस सञ्चालन गर्छौं ।’

बिहीबार दुईवटा बसबाट महानगरका विभिन्न रुटको परीक्षण गरिएको हो । कार्यबाहक मेयर कार्की र प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालासहितको टोलीले बसमा चढेर रुटको परीक्षण गरेको थियो । बसमा ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क सेवा दिइनेछ । महिला र विद्यार्थीले पनि सहुलियत दरमा बस चढ्न पाउनेछन् । अन्य व्यक्तिलाई पनि न्यून शुल्कमा सेवा दिने कार्यबाहक मेयर कार्कीले जानकारी दिइन् ।

निजी क्षेत्र र लगानी बोर्डसँगको साझेदारीमा नगर बस सञ्चालनका लागि प्रक्रिया अन्तिम चरणमा पुगेको प्रमुख प्रशासकीय अधिकृत कोइरालाले बताए । उनका अनुसार बस खरिद प्रकृया पनि अघि बढेको छ । मेयर नागेश कोइरालाको नेतृत्वमा विभिन्न चरणमा भएका छलफलबाट नगर बस सञ्चालन गर्न उपयुक्त हुने निष्कर्ष निस्किएपछि महानगरले बस सञ्चालनको तयारी गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!