विराटनगर । प्रदेशको नामकरण भएको खुशियालीमा आज कोशी प्रदेशमा सार्वजनिक बिदा दिइएको छ । प्रदेश नं. १ को नाम कोशी प्रदेश नामकरण भएको उपलक्ष्यमा प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

प्रदेशको नामकरण पश्चात बुधबार राती आन्तरिक मामिला तथा कानून मन्त्रालयले सार्वजनिक बिदा सम्बन्धी सूचना जारी गरेको हो । ‘प्रदेश सभाको २०७९/११/१७ मा बसेको बैठकबाट प्रदेश नं. १ को नाम कोशी प्रदेश राख्ने प्रस्ताव पारित भएकाले प्रदेशको नामकरण भएको उपलक्ष्यमा प्रदेशका सम्पूर्ण बासिन्दाहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै प्रदेशभित्रका सबै सरकारी कार्यालय, सार्वजनिक संस्थान, प्रतिष्ठान र शैक्षिक संस्थाहरूलाई मिति २०७९ फागुन १८ गते बिहीबार सार्वजनिक बिदा दिने प्रदेश सरकारबाट मिति २०७९/११/१७ मा निर्णय भएकाले सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ, मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ ।

बुधबार बसेको प्रदेश सभा बैठकमा प्रदेश सभाको दुई तिहाइ भन्दा बढी मतले प्रदेशको नामकरण गरेको हो । ९३ सांसद रहेको प्रदेश सभामा कोशी प्रदेशको पक्षमा ८२ सांसदले मतदान गरेका छन् । विपक्षमा ४ मत मात्र खस्यो भने ६ सांसद मतदानमा अनुपस्थित थिए । प्रस्ताव गरिएको अर्को ‘किरात लिम्बुवान सगरमाथा’ नामलाई प्रदेश सभाको बहुमतले अस्वीकृत गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!