- रबिन कटेल/संगालोखबर

विराटनगर । प्रदेशको नामकरणका लागि अहिले १ नम्बर प्रदेश सभाको बैठक जारी छ । आजै प्रदेशको नाम टुंग्याउने तयारी छ । ‘कोशी प्रदेश’ नाम रहने लगभग पक्कापक्की भएको छ ।

प्रदेश सभा सचिवालयमा कांग्रेस सांसद भूमिप्रसाद राजवंशीसहित एमालेका सांसद निरन राई र विदुरकुमार लिङ्थेपको समर्थनमा एमालेका सांसद रामबहादुर मगरले ‘कोशी प्रदेश’ नाम प्रस्ताव गरेका छन् । यता, जसपाका सांसद निर्मला लिम्बू र नेकपा एकीकृत समाजवादीका सांसद कमलप्रसाद जवेगुको समर्थनमा नेकपा एसका सांसद एवं पूर्व मुख्यमन्त्री राजेन्द्र कुमार राईले ‘किरात लिम्बुवान सगरमाथा प्रदेश’ नाम प्रस्ताव गरेका थिए । तर, प्रदेश सभाको बहुमतले ‘किरात लिम्बुवान सगरमाथा प्रदेश’ नाम अस्वीकृत गरेको छ ।

अहिले ‘कोशी प्रदेश’ का विषयमा बैठकमा छलफल जारी छ । सांसदहरुले आ–आफ्नो धारणा राखिरहेका छन् । छलफल पश्चात कोशीको पक्ष/विपक्षमा मतदान हुनेछ । ९३ सांसद रहेको प्रदेश सभामा एमालेका ४०, कांग्रेसका २९, माओवादीका १३, राप्रपाका ६, नेकपा एसका ४ र जसपाका १ जना सांसद छन् । प्रदेशको नामकरणका लागि दुई तिहाई सांसदको समर्थन हुनुपर्ने संवैधानिक व्यवस्था छ । प्रदेश १ को नामकरण गर्न कम्तिमा ६३ सांसदको समर्थन आवश्यक पर्छ ।

एमालेले प्रस्ताव गरेको ‘कोशी प्रदेश’ नामको पक्षमा कांग्रेस, माओवादी केन्द्र र राप्रपा पनि सहमत छन् । उनीहरूले कोशी प्रदेशकै पक्षमा मतदान गर्ने निर्णय गरिसकेका छन् । चार दलको समर्थन रहदा कोशी प्रदेश नाम सहज रुपमा पारित हुने निश्चित भएको हो । नामकरणका लागि ६३ सांसदको समर्थन चाहिने भएपनि यो समीकरण अनुसार कोशी प्रदेशको पक्षमा कम्तिमा ८८ मत देखिएको छ ।

फरक नाम प्रस्ताव गर्ने नेकपा एस र जसपासँग ५ जना मात्र सांसद रहेकाले भारीमतसहित कोशी प्रदेश नामकरणको प्रस्ताव पारित हुने पक्कापक्की भएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!