- संगालोखबर सम्वाददाता

विराटनगर । प्रदेश सभामा १ नम्बर प्रदेशको नामकरणको प्रकृया अघि बढेपछि विराटनगरका चार स्थानलाई निषेधित क्षेत्र तोकिएको छ । जिल्ला प्रशासन कार्यालयले प्रदेश सभा आसपास क्षेत्रसहित चार स्थानलाई निषेधित क्षेत्र तोकेको हो ।

Advertisement

देवकोटा चोकदेखि कोशी अस्पताल चोकसम्म, जिल्ला प्रशासन कार्यालय वरपर, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मुख्यमन्त्रीको निवास वरपरको क्षेत्रलाई प्रशासनले निषेधित क्षेत्र तोकेको हो । प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले सूचना जारी गर्दै आज दिउँसो ३ बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधित क्षेत्र तोकिएको जनाएका छन् ।

नामकरणको प्रकृया अघि बढेकाले असन्तुष्ट पक्षबाट हुनसक्ने सम्भावित विरोध, धर्ना, जुलुस, झडप लगायतलाई मध्यनजर गर्दै प्रशासनले सो क्षेत्रमा सभा, जुलुस, भेला, र्याली, धर्ना जस्ता कार्य गर्न रोक लगाएको हो । अप्रिय घटना हुन नदिनका लागि विराटनगर क्षेत्रमा सुरक्षा तैनाथी पनि बढाइएको छ ।

अहिले प्रदेश सभाको बैठक जारी छ । बैठकबाट आजै प्रदेशको नामकरण गर्ने तयारी छ । प्रदेशसभामा ‘कोशी प्रदेश’ र ‘किरात–लिम्बुवान–सगरमाथा प्रदेश’ नाम टेवुल भएपनि किरात–लिम्बुवान–सगरमाथा प्रदेशको पक्षमा न्यून मत देखिएपछि सो प्रस्ताव अस्वीकृत भएको छ । अब, कोशी नाममा मात्र छलफल भएर मतदान हुँने प्रकृया अघि बढेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!