- संगालोखबर सम्वाददाता

विराटनगर । प्रदेश १ को नाम ‘कोशी प्रदेश’ राख्न नेकपा एमाले र नेपाली कांग्रेसले संयुक्त रुपमा प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गरेका छन् । एमाले सांसद रामबहादुर मगरले प्रस्ताव दर्ता गराएका छन् ।

Advertisement

सो प्रस्तावमा कांग्रेसका तर्फबाट सांसद भुमिप्रसाद राजवंशीसहित एमालेका सांसद निरन राई र विदुरकुमार लिङ्थेप समर्थक बसेका छन् । उनीहरूले संसद सचिवालयमा गएर प्रस्ताव दर्ता गराएका हुन् । सबै जाति, धर्म र क्षेत्रलाई समेट्ने र सबैका लागि उपयुक्त हुने भएकाले कोशी नाम प्रस्ताव गरिएको प्रस्तावमा उल्लेख छ । 

‘प्रदेशले आफ्नो नामकरण प्रदेश सभाबाट आफैले गर्नुपर्ने दायित्व पुरा गर्नका लागि यस प्रदेशमा विकसित भएका हिन्दु धर्म, बौद्ध धर्मको दर्शन, किरात सभ्यता, मिथिला सभ्यता, लिम्बुवान संस्कृती, विराट क्षेत्रको इतिहास, कोच संस्कार र संस्कृति समेतलाई समेट्ने गरी तथा कोशी नदी र यसका शाखा नदीहरुमै ऐतिहासिक, धार्मिक तथा जातजाती, भाषा, सम्यता र संस्कृतिको विकास भएकाले यस क्षेत्रको मूल आधारको रुपमा हिमालदेखि पहाड र तराइको भूभागमा कोशी नदी प्रवाहको क्षेत्र भित्रै सम्पूर्ण अवस्थाको वर्तमान र भावी विकास र समृद्धि समेत जोडिएको हुनाले यस प्रदेशको नाम कोशी प्रदेश राख्न उपयुक्त ठानिएको छ’ प्रस्तावमा भनिएको छ ।

प्रदेश सभाबाट आजै प्रदेशको नामकरण गर्ने तयारी छ । यता, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले पनि बेग्लै प्रस्ताव दर्ता गर्ने तयारी गरेका छन् । ‘किरात–लिम्बुवान–सगरमाथा प्रदेश’ नाम प्रस्ताव दर्ता गर्ने उनीहरूको तयारी छ । 

९३ सांसद रहेको प्रदेश सभामा एमालेका ४०, कांग्रेसका २९, माओवादीका १३, राप्रपाका ६, नेकपा एसका ४ र जसपाका १ जना सांसद छन् । प्रदेशको नामकरणका लागि दुई तिहाई सांसदको समर्थन हुनुपर्ने संबैधानिक व्यवस्था छ । प्रदेश १ को नामकरण गर्न कम्तिमा ६३ सांसदको समर्थन आवश्यक पर्छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!