- सन्तोष सुवेदी/संंगालोखबर

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–३ कुशेटारका माझी समुदायले २२ वर्षपछि मंगलबार लदी पर्व मनाएका छन् । सीमान्तकृत माझी समुदायले तमोर नदी किनारमा पुजा गरेर धुमधामपूर्वक लदी पर्व मनाएका हुन् ।

कोशी पुजा र लदी पुजा पनि भनिने यो पर्व माझी समुदायको सबैभन्दा ठूलो पर्व हो । कुशेटारमा नेपाल माझी उत्थान संघले यो पुजा आयोजना गरेको हो । तमोरको किनारमा बोकाको बली दिएर उनीहरूले डुंगा, माछा मार्ने जाल, फूगी लगायतको पुजा गरेका छन् । नदीमा मान्छे तार्ने काम बन्द भएपछि लदि पुजा पनि बन्द भएको थियो ।

द्वन्द्वकालका बेला ०५७ सालमा नाउ बगाएपछि २२ बर्षयता यो पुजा गरिएको थिएन । तर, अब यसलाई निरन्तरता दिन पुजा गरिएको स्थानीय फुलमाया माझीले बताइन् । हरेक वर्ष फागुन महिनाको तेस्रो मंगलबार माझीहरूले यो पर्व मनाउँने चलन छ । माझीहरूले तेस्रो मङ्गलबारलाई साईली मंगलबार पनि भन्ने गरेका छन् । उनीहरूले यो दिनलाई शुभ दिनको रुपमा लिने गर्छन् ।

माझी भाषामा लदी भनेको कोशी हो । मान्छेलाई डुंगाबाट नदी तार्दा दुर्घटना नहोस् भन्ने कामना गर्दै लदि अर्थात कोशीको पुजा गर्ने गरिएको स्थानीय नविन माझीले जानकारी दिए । माझी समुदायले यो पर्वमा विविध सांस्कृतिक कार्यक्रम पनि गर्ने गरेका छन् ।

तस्वीर : सन्तोष सुवेदी/संंगालोखबर

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!