- संगालोखबर सम्वाददाता

धनकुटा । बैंक तथा लघुवित्तको चर्को ब्याज र मूल्यवृद्धिको विरोधमा आज धनकुटामा प्रदर्शन गरिएको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले दिउँसो मदनचोकमा विरोध प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सो पार्टीका नेता कार्यकर्तासहित बैंक तथा लघुवित्तको चर्को ब्याजका कारण पीडित बनेका व्यक्तिहरू पनि सहभागि थिए । ‘वित्तीय संस्थाको चर्को शोषण अन्त्य गर, राष्ट्रिय उद्योग र व्यवसायलाई राहत दे, लघुवित्त संस्थाको ज्यादती अन्त्य गर, ऋणीहरूको अवस्था छानविन गर, पीडित जनताको ब्याज मिनाहा गर, एक अङ्कको ब्याजदर लागू गर’ लगायत नारासहित उनीहरूले विरोध प्रदर्शन गरेका हुन् । बैंक तथा लघुवित्तको चर्को ब्याज र मूल्यवृद्धिले जनताहरू मारमा परेकाले विरोध जनाउँनु परेको नेकपाका जिल्ला सेक्रेटरी ध्रुव थापाले बताए । सो पार्टीले बैंक तथा लघुवित्तको चर्को ब्याजको विरोध गर्दै यसअघि प्रमुख जिल्ला अधिकारी लिला केसीलाई ज्ञापनपत्र पनि बुझाएको थियो ।

सो पार्टीले १६ बुँदे माग राख्दै माग पुरा नभएसम्म धनकुटामा लघुवित्त संस्थाहरू र मिटरब्याजीलाई प्रतिबन्ध लगाउँने निर्णय पनि गरेको छ । लघुवित्त संस्थाहरू र मिटरब्याजीविरुद्ध जनकारवाही गर्ने चेतावनीसमेत दिएको छ । बैंक तथा वित्तीय संस्थाहरूको चर्को ब्याजदरलाई एक अङ्कमा कायम गर्नुपर्ने, लघुवित्त संस्थाहरूले ऋण लगानीमा लिने गरेको सेवा शुल्क १ देखि १.५ प्रतिशतलाई घटाएर ०.५ प्रतिशत कायम गर्नुपर्ने, यसअघि सेवा शुल्क बापत लिएको बढी रकम फागुन १५ गतेभित्र फिर्ता दिनुपर्ने सो पार्टीले माग गरेको छ ।

त्यस्तै, अनुत्पादक क्षेत्रमा ऋण दिएर सर्वसाधारण महिलाहरूलाई जवरजस्त ऋणी बनाउने काम बन्द गर्नुपर्ने, ऋण असुलीको नाममा गरिने दुर्व्यवहार मानसिक यातना बन्द गरिनुपर्ने लगायत माग पनि सो पार्टीले अघि सारेको छ । धनकुटामा फागुन ५ गतेदेखिनै भण्डाफोर, विरोध जनसङ्घर्ष र जनकारवाहीको अभियान सञ्चालन भइरहेको सो पार्टीले जनाएको छ । बैंक तथा वित्तिय संस्थाले सुरुमा सस्तो ब्याजदर देखाएर ऋण दिने अनि पछि ब्याजदर बढाउँने गर्दा ऋणीहरू मारमा पर्ने गरेका छन् ।

यो पनि हेर्नुहोस्…

धनकुटामा विप्लव नेतृत्वको नेकपाले लघुवित्त संस्थालाई प्रतिबन्ध लगाउँने

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!