- सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । अमेरिका बस्दै आएका मनोज खड्काले धनकुटा नगरपालिका–६, पाङसिङकी दिलकुमारी राईको परिवारलाई सहयोग गरेका छन् । ज्यालामजदुरी गर्दै आएका दिलकुमारीका श्रीमान राजबहादुरको करेन्ट लागेर मृत्यु भएपछि आर्थिक अभावले राई परिवार समस्यामा परेको थाहा पाएर खड्काले नगदसहित खाद्यान्न सामाग्री सहयोग गरेका हुन् ।

Advertisement

इटहरी घर भएका खड्का अमेरिका जानुअघि लामो समय धनकुटालाई कार्यक्षेत्र बनाएर सामाजिक काममा सक्रिय थिए । उनले धनकुटा–७ का खिन्द्र अधिकारीको समन्वयमा १८ हजार नगदसहित ५० किलो चामल, एक कार्टुन खाने तेल, दाल, चिउरा, भुजा, बिस्कुट, जिरा, साबुन लगायत सामाग्री सहयोग गरेका हुन् ।

खड्कामार्फत प्राप्त भएको उक्त सामाग्री धनकुटा नगरपालिका वडा नं.७ का वडाध्यक्ष रोशेष श्रेष्ठसहितको टोलीले घरमै पुगेर हस्तान्तरण गरेको छ । खड्काले पठाएको नगद १८ हजार सहकारीमा राखिएको छ । धनकुटा बचत तथा ऋण सहकारी संस्थामा राखिएको सो रकम हरेक महिना १ हजार ५ सयका दरले परिवारलाई उपलब्ध गराइने अधिकारीले बताए ।

घर मर्मतको काम गर्ने क्रममा गत असोज २ गते करेन्ट लाग्दा राजबहादुरको मृत्यु भएको थियोे । श्रीमती दिलकुमारी पनि मानसिक समस्याबाट पीडित छन् । उनीहरूका चार सन्तान छन् । कमाइ गर्ने घरको अभिभावकनै गुमेपछि उनको परिवारले जीविकोपार्जनमै समस्या झेल्दै आएको छ ।

यता, दिलकुमारीका छोराछोरीलाई त्रिवेणी माध्यमिक विद्यालयले पनि सहयोग गर्दै आएको छ । उनीहरूलाई निःशुल्क पठनपाठनसहित स्टेसनरी र विद्यालय पोशाक पनि सहयोग गरिएको विद्यालयका प्राचार्य दीपक पोख्रेलले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!