धनकुटा । धनकुटा जिल्ला बुद्धिचाल संघको अध्यक्षमा रमेशचन्द्र अधिकारी चयन भएका छन् । संघको अधिवेशनले पत्रकार अधिकारीको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरेको हो ।
समितिको उपाध्यक्षमा टिका भण्डारी, सचिवमा हेमकुमार राई र कोषाध्यक्षमा विजयशेखर श्रेष्ठ चुनिएका छन् । यस्तै, सदस्यहरूमा नारायणकुमार आठपहरिया, कविराज घिमिरे र किशन बोगटी चयन भएका छन् । यसैगरी, अधिवेशनले रमेशचन्द्र अधिकारी, टिका भण्डारी र शैलेश वाग्लेलाई प्रदेश अधिवेशन प्रतिनिधि चयन गरेको संघका प्रदेश संयोजक कृष्ण सिग्देलले जानकारी दिए । झापाको दमकमा मङ्गलबारदेखि प्रदेश अधिवेशन हुदैछ ।
कार्यक्रममा बुद्धिचाल संघका केन्द्रीय उपाध्यक्ष ज्ञानेन्द्र पराजुलीले बुद्धिचाल खेललाई धनकुटामा पहिलो पटक केन्द्रले अनुमोदन गरेको बताए । यस अघि धनकुटामा राजेश्वरबहादुर श्रेष्ठको नेतृत्वमा तदर्थ समिति थियो ।
अधिवेशनमा पूर्व केन्द्रीय वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद रिजाल, प्रदेश संयोजक कृष्ण सिग्देल, प्रदेश सदस्य अतुलकुमार दाहाल, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मनोज राई लगायतले खेलकुदको विकासका लागि राज्यपक्षको दायित्व रहनुपर्नेमा जोड दिए ।