- संगालोखबर सम्बाददाता

धनकुटा । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्य सम्पादन मूल्याङ्कनमा धनकुटाका सात वटै पालिका मध्ये सबैभन्दा बढी अङ्क ल्याएर धनकुटा नगरपालिका प्रथम बनेको छ । प्रदेश तथा स्थानीय सरकारको वित्तीय समानीकरण अनुदान सिफारिस गर्न आयोगले गरेको कार्यसम्पादन मूल्याङ्कनमा ६६.६० अङ्क प्राप्त गर्दै धनकुटा नगरपालिका जिल्ला प्रथम बनेको हो ।

Advertisement

यता, १ नम्बर प्रदेशका १४ जिल्लाका १३७ पालिका मध्ये धनकुटा नगरपालिका कार्यसम्पादन मूल्याङ्कनमा ९ औं स्थानमा पर्न सफल भएको छ । कार्यमूल्याङ्कनमा राम्रो नतिजा आएपछि धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङले खुशी व्यक्त गरेका छन् । ‘कामको मूल्याङ्कनका आधारमा तुलनात्मक रुपमा हामी राम्रो पोजिसनमा आएका छौं,’ मेयर तामाङले भने, ‘अब आगामी वर्ष अझै राम्रो नतिजा ल्याउने गरी काम गर्छौ ।’

आयोगले ११ वटा सूचकका आधारमा सात वटै प्रदेश सरकार र १७ वटा सूचकको आधारमा ७५३ वटै पालिकाको कार्यसम्पादन मूल्यांकन गरेको थियो । आयोगद्वारा सार्वजनिक प्रतिवेदन अनुसार धनकुटाका सात वटा पालिका मध्ये धनकुटा नगरपालिकाले सबैभन्दा बढी र पाख्रीवास नगरपालिकाले सबैभन्दा कम अर्थात ४७.०९ अङ्क पाएको छ । त्यस्तै, छथर जोरपाटी गाउँपालिकाले ६३.५५, सहिदभूमि गाउँपालिकाले ६२.२५, महालक्ष्मी नगरपालिकाले ५८.९४, चौबिसे गाउँपालिकाले ५४.६४ र साँगुरीगढी गाउँपालिकाले ५२.५४ अंक प्राप्त गरेका छन् ।

मूल्यांकन प्रतिवेदन अनुसार ६० प्रतिशत अंक कटाउने पालिकाको संख्या न्यून छ । राजश्व र व्ययको अनुमान गाउँ तथा नगर सभामा समयमै पेश गरे/नगरेको वा समयमै पारित भए/नभएको, राजश्व सङ्कलनको अवस्था, बजेट खर्च, कार्यप्रगति, बेरुजुको अवस्थालाई पालिकाको कार्यमूल्यांकनको आधार बनाइएको छ । त्यस्तै, शिक्षा र स्वास्थ्य क्षेत्रलाई पनि प्राथमिकताका साथ हेरिएको छ ।

सामुदायिक विद्यालयमा विद्यार्थी भर्नाको अवस्था, उत्रिर्ण प्रतिशत, गर्भवती महिलाले नियमित गराउँनुपर्ने गर्भजाँचको अवस्था, स्वास्थ्य संस्थामा सुत्केरी गराउनेको संख्या, खोप लगाउनुपर्ने बालबालिकालाई नियमित खोप लगाए/नलगाएको लगायत सूचकका आधारमा पालिकाको मूल्यांकन गरिएको छ । आयोगका प्रवक्ता ज्ञानेन्द्र पौडेलका अनुसार कार्यमूल्यांकन चित्त नबुझेमा आगामी मङ्गलबारसम्म पुनरावलोकनका लागि प्रमाणसहित निवेदन पेश गर्न सक्ने व्यवस्था गरिएको छ ।

सात प्रदेश र ७५३ पालिकाको कार्यसम्पादन मूल्यांकन हेर्न (यहाँ) क्लिक गर्नुहोस्

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!