- संगालोखबर सम्बाददाता

धनकुटा । विद्यार्थी भर्नाको विषयमा उत्पन्न विवादका क्रममा विहीबार धनकुटा बहुमुखी क्याम्पसमा झगडा हुँदा दुई विद्यार्थी घाइते भएका छन् । झगडामा नेपाली कांग्रेस निकट नेवि संघका क्याम्पस इकाई सभापति सुवास भण्डारी र सचिव युवराज कार्की घाइते भएका हुन् ।

Advertisement

कांग्रेस निकट नेवि संघ र एमाले निकट अनेरास्ववियु सम्बद्ध विद्यार्थीहरुबीच झगडा हुँदा उनीहरु घाइते भएको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी नरेन्द्र कुँवरले बताए । ‘भर्नाको विषयमा विद्यार्थीहरूबीच झगडा हुँदा दुई जना घाइते भएछन्,’ डीएसपी कुँवरले भने, ‘घटनाको विषयमा हामीसँग आधिकारिक उजुरी आएको छैन, तरपनि हामी बुझ्दैछौ ।’

दुवै घाइतेलाई उपचारका लागि धनकुटा जिल्ला अस्पताल ल्याइएको थियो । घाइते भण्डारीलाई थप उपचारका लागि विराटनगर पठाइएको छ । कार्कीको धनकुटामै उपचार हुदैछ ।

के हो घटना ?

आगामी चैत ५ गते स्ववियु निर्वाचनको मिति तोकिएको छ । क्याम्पसमा विद्यार्थी भर्नाको विहीबार अन्तिम दिन थियो । सोही क्रममा विद्यार्थी भर्नाको विषयमा विवाद भएर घटना भएको हो ।

क्याम्पसको कार्यालय समय ५ बजेपछि पनि विद्यार्थी भर्ना नरोकिएको र फर्जी विद्यार्थी भर्ना गर्न खोजिएकाले त्यसको विरोध गर्दा एमाले निकट अनेरास्ववियु र युवा संघ समर्थित युवाहरूले नेवि संघ सम्बद्ध विद्यार्थीहरूमाथि सांघातिक आक्रमण गरेको नेवि संघका जिल्ला सभापति क्रान्ति पौडेल बताउँछन् । क्याम्पस प्रशासनको पनि गैरजिम्मेवारीका कारण घटना भएको उनको भनाई छ । विद्यार्थीहरूमाथि भएको आक्रमणको नेवि संघले कडा प्रतिवाद गर्ने उनले बताए ।

यता, अनेरास्ववियुका जिल्ला अध्यक्ष प्रकाश गिरीले विद्यार्थी भर्नाको अन्तिम दिन भएकाले भर्नाका लागि कागजपत्र बोकेर लाइनमा बसेका विद्यार्थीहरूलाई भर्ना हुनबाट रोक्न नेवि संघले क्याम्पसमा ताला लगाउँन खोजेकाले दुई पक्षबीच झगडा भएको बताए । भर्नाको अन्तिम दिन भएकाले लाइनमा बसिसकेका विद्यार्थीहरूले भर्ना हुन पाउनुपर्ने भएपनि नेवि संघले ५ बज्दा नबज्दै ताला लगाउँन हस्तक्षेप गरेकाले घटना भएको उनको तर्क छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!