संगालोखबर सम्बाददाता

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका–४ बाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । छिन्ताङबाट को १ ज ३११८ नम्बरको पिकअप गाडीमा राखेर हिलेतर्फ ल्याउँदै गरेको अवस्थामा प्रहरीले गाँजा फेला परेको हो ।

Advertisement

प्लाष्टिकले प्याक गरी १५ वटा बोरामा हालेर गाडीमा ल्याउँदै गरेको अवस्थामा चार सय किलो गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता डीएसपी नरेन्द्र कुँवरले बताए । उनका अनुसार गत शनिबार राती करिब १० बजे हिलेतर्फ आउँदै गरेको पिकअपलाई प्रहरीको गस्ती टोलीले रोक्न खोज्दा नरोकी भागेको थियो ।

रातीको समयमा हेडलाइट बन्द गरेर गाडी हुइकाएपछि प्रहरीले शंका लागेर पछ्याउँदै गयो, अन्ततः मूलबाटो छोडेर सहायक बाटोमा लगेर गाडी रोकी चालक भागे । खानतलासी गर्दा गाडीमा ठूलो परिमाणमा गाँजा बरामद भएको डीएसपी कुँवरले जानकारी दिए ।

फरार भएका गाडी चालक सहिदभूमि–४ का ३१ वर्षीय किरण राईलाई पनि प्रहरीले पक्राउ गरेको छ । छिन्ताङमा गाडी छोडेर भागेका चालक राईलाई चार दिनपछि बुधबार सुनसरीको इटहरी उपमहानगरपालिका–२ बाट प्रहरीले पक्राउ गरेको हो । उनीविरुद्ध प्रहरीले जिल्ला अदालत धनकुटामा लागूऔषध सम्बन्धी मुद्दा दायर गरेको छ । अदालतबाट म्याद थप गरेर गाँजाको कारोबारका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

धनकुटाको खाल्सा क्षेत्रमा गाँजा खेती हुँदै आएको छ । यो क्षेत्रबाट बिक्रीका लागि लैजाँदै गरेको अवस्थामा प्रहरीले पटकपटक गाँजा नियन्त्रणमा लिने गरेको छ । यसपटक एकैचोटी निकै ठूलो परिमाणमा गाँजा बरामद भएको हो । सम्भवतः धनकुटामा हालसम्मकै ठूलो परिमाणमा गाँजा बरामद भएको हो ।

धनकुटामा यसअघि एकैपटक यत्ति ठूलो परिमाणमा गाँजा बरामद भएको आफूलाई जानकारी नभएको डीएसपी कुँवर बताउँछन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!