- संगालोखबर सम्बाददाता

विराटनगर । विराटनगर महानगरपालिकाले ‘विद्यालयका बालिकासँग उपप्रमुख’ अभियान सुरु गरेको छ । महानगरको न्यायिक समितिको आयोजनामा विराटनगर क्षेत्रभित्र सञ्चालित सामुदायिक विद्यालयमा यो अभियान थालिएको हो ।

Advertisement

अभियानअन्तर्गत बुधबार विराटनगर–११ स्थित जनपथ माविमा कार्यक्रम गरिएको छ । कक्षा–९ र १० का बालिकाहरू सहभागी कार्यक्रममा महानगरकी उपप्रमुख शिल्पा निराला कार्कीले न्यायिक समितिले गर्ने कामका विषयमा जानकारी गराइन् । आफूलाई परेका समस्या खुलस्त राख्न बालिकाहरूलाई उपप्रमुख कार्कीले आग्रह गरिन् । अभिभावक र विद्यालयका शिक्षकबाट बालिकाहरूलाई कस्तो व्यवहार भइरहेको छ भन्ने जानकारी लिन अभियान सञ्चालन गरिएको उपप्रमुख कार्कीले बताइन् ।

उपप्रमुखसित बालिकाहरूले खुलस्त आफ्ना कुरा गरेका थिए । बालिकाहरूलाई पेपर दिएर आफ्ना मनका कुरा लेख्न लगाइएको थियो । बालिकाहरूले लेखेका कुरा आफूले अध्ययन गर्ने र विद्यालयले सुधार गर्नुपर्ने केही विषय भए सुधार्न निर्देशन दिने उपप्रमुख कार्कीले जानकारी दिइन् । ‘कतिपय समस्या बाहिर ल्याउन नसक्दा बालिकाहरू डिप्रेसनमा जाने अवस्था पनि रहन्छ,’ उनले भनिन्, ‘यस्ता कार्यक्रमले उनीहरूभित्र गुम्सिएका कुरा बाहिर आउँछ र मन हलुका हुन्छ । साथै केही समस्या भए बेलैमा समाधान गर्न सकिन्छ ।’

कार्यक्रममा न्यायिक समितिका सदस्यसमेत रहेका विराटनगर–११ का अध्यक्ष तीर्थेन्द्र न्यौपाने र कानुन शाखाकी प्रमुख कानुन अधिकृत शारदा थपलियाले ‘विद्यालयका बालिकासँग उपप्रमुख’ अभियानले बालिकाहरूका समस्या पत्ता लगाएर समाधान गर्न सहयोग पुग्ने धारणा राखे । अभियानमार्फत महानगरका सबै सामुदायिक विद्यालयमा पुगेर बालिकाहरूका समस्या बुझ्ने अधिकृत थपलियाले जानकारी दिइन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!