संगालोखबर सम्वाददाता

विराटनगर । विराटनगर विमानस्थलमा २ अर्ब ४२ करोडको लागतमा नयाँ सुविधासम्पन्न टर्मिनल भवन निर्माण गरिने भएको छ । १६ हजार २७७ वर्ग मिटर क्षेत्रफलको सुविधा सम्पन्न टर्मिनल भवन निर्माण गर्न लागिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले सोमबार टर्मिनल भवनको शिलान्यास गरेका छन् ।

Advertisement

१ हजार ८ सय यात्रु धान्न सक्ने गरी बनाउँन लागिएको टर्मिनल भवन भैरहवा र पोखरा विमानस्थलको भन्दा ठूलो हुनेछ । पोखरा विमानस्थलको टर्मिनल भवन १५ हजार वर्ग मिटर र गौतमबुद्ध विमानस्थल भैरहवाको टर्मिनल भवन १४ हजार वर्ग मिटरको रहेकाले विराटनगर विमानस्थलमा बन्ने टर्मिनल भवन आन्तरिकतर्फको सबैभन्दा ठुलो हुनेछ ।

भवन निर्माणको ठेक्का केसी–डाँफे जेभीले पाएको छ । उसले आगामी तीन वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता छ ।

टर्मिनल भवन शिलान्यास गर्दै मन्त्री किराँतीले विराटनगर विमानस्थलमा सुविधा सम्पन्न भवन बन्नु पूर्वी नेपालकै लागि गौरवको कुरा भएको बताए । उनले गुणस्तरीय हिसाबले समयमै काम सक्न निर्माण व्यवसायीहरूलाई आग्रह गरे ।

कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले टर्मिनल भवन निर्माणको थालनीले केही आशा पलाएको बताए । तर, विराटनगर विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय स्तरको बनाउने काम अघि बढ्न नसकेको प्रति उनले दुख व्यक्त गरे ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!