- संगालोखबर सम्बाददाता

धनकुटा । धनकुटामा ११ दिनसम्म सञ्चालित प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी, एभोकाडो एवं पाँचौं धनकुटा महोत्सवमा सात करोड ५० लाख भन्दा बढीको आर्थिक कारोबार भएको छ । महोत्सवमा अनुमान गरिएको भन्दा बढी आर्थिक कारोबार भएको आयोजकले जनाएको छ ।

महोत्सव सफल पार्न भूमिका निर्वाह गर्नेहरूलाई धन्यवाद ज्ञापन गर्न आयोजक उद्योग वाणिज्य संघले आज आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो जानकारी दिइएको हो । महोत्सवमा करिब ५ करोड बराबरको आर्थिक कारोबार हुने आयोजकको पूर्वानुमान थियो । तर, महोत्सवको कारोबार मूल्यांकन गर्दा अनुमान गरिएको भन्दा बढी कारोबार भएको पाइएको आयोजक उद्योग वाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले बताए । ‘हामीले आर्थिक कारोबारको जे अनुमान गरेर महोत्सव गरेका थियौं, त्यो भन्दा बढी कारोबार भयो,’ अध्यक्ष राईले भने ।

महोत्सवमा अवलोकनकर्ताको संख्या पनि अनुमान गरिए भन्दा बढी भएको आयोजकको दावी छ । करिब १ लाखले महोत्सव अवलोकन गर्ने अनुमान गरिएको भएपनि डेढ लाखले अवलोकन गरेको अध्यक्ष राईले बताए । महोत्सवको सम्पूर्ण आय, व्यय भने केही महिनापछि सार्वजनिक गरिने आयोजकले जनाएको छ । महोत्सव सफल पार्न सहयोग गर्ने सम्पूर्णलाई आयोजक कमिटीले पत्रकार सम्मेलनमार्फत धन्यवाद पनि दिएको छ ।

कार्यक्रममा उद्योग वाणिज्य संघका अध्यक्ष राई, बरिष्ठ उपाध्यक्ष तारा तितुङ्ग र सचिव श्रीराम रायमाझीले भीडभाडका कारण भएको ठेलमठेलको घटना बाहेक सम्पूर्ण हिसाबले महोत्सव सफल रहेको भन्दै महोत्सव सफल पार्न भूमिका निर्वाह गर्ने सम्पूर्णलाई धन्यवाद ज्ञापन गरे ।

१८३ स्टल राखिएको महोत्सवमा हरेक दिन स्थानीय तथा राष्ट्रिय कलाकारको साथमा सांस्कृतिक कार्यक्रम गरिएको थियो । महोत्सवको ९ औं दिन दर्शकको अत्याधिक भीडका कारण गेटबाट पस्ने क्रममा ठेलमठेल हुँदा ३० जना घाइते भएका थिए । धनकुटा–५ कर्मिटारका बालक अभिहाङ्ग लिम्बू बाहेक बाँकी सबै घाइतेहरू अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएका छन् । विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचाररत लिम्बुको अवस्था पनि सुधारोन्मुख छ । सबै घाइतेको उपचार खर्च आयोजकले बेहोरेको छ । उनीहरूको उपचारका लागि केही व्यक्तिले पनि सहयोग गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!