- रबिन कटेल/संगालोखबर

धनकुटा । धनकुटा महोत्सवस्थल टुँडिखेलको गेटमा शनिवार राती उर्लिएको भीडमा ठेलमठेल हुँदा किचिएर ३० जना घाइते भएका छन् । घाइते मध्ये दुई जनाको अवस्था गम्भीर छ । गायक प्रमोद खरेलको प्रस्तुती हेर्न राती करिब ८ बजे महोत्सवस्थल प्रवेश गर्ने क्रममा भीडमा ठेलमठेल भएको हो ।

महोत्सवस्थलको पश्चिमतर्फको गेटमा घटना भएको हो । सांस्कृतिक कार्यक्रमका लागि गायक खरेल स्टेजमा आउन लागेका थिए । गायक खरेलको प्रस्तुती सुरु हुन लागेको स्टेजबाट ‘माइकिङ्ग’ भइरहेको थियो । उनको प्रस्तुती हेर्न महोत्सवस्थल भित्र र गेट बाहिर पनि उत्तिकै भीड थियो । गेट बाहिर रहेका सयौँ मानिसको भीड भित्र प्रवेश गर्न ठेलमठेल हुँदा गेट पुरै खोलियो । सोही क्रममा तँछाडमछाड गर्दै भित्र भीड प्रवेश गर्ने क्रममा ठेलमठेल हुँदा मानिसहरू किचिएका हुन् ।

भीडले किचेर घाइते भएका व्यक्ति र गेट बाहिर लागेको भीड

किचिएर घाइते भएका ३० जनालाई उद्धार गरेर उपचारका लागि जिल्ला अस्पताल ल्याइएको थियो । त्यहाँबाट थप उपचारका लागि रिफर भएका १६ जनालाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र २ जनालाई विराटनगरस्थित गोल्डेन अस्पताल पठाइएको धनकुटाका प्रहरी प्रमुख एसपी लक्ष्मीराज अधिकारीले जानकारी दिए । बाँकी १२ जना जिल्ला अस्पतालमा सामान्य उपचार पश्चात घर फर्किएका छन् ।

घाइते मध्ये धनकुटा–५ का बिष्णु राईका ६ वर्षीय छोरा अविहाङ लिम्बू र नाम नखुलेको करिब ४ वर्षीय बच्चाको अवस्था गम्भीर छ । उनीहरूलाई थप उपचारका लागि गोल्डेन अस्पताल पठाइएको हो । बाँकी १६ जनाको धरानमा उपचार भइरहेको छ ।

घटनास्थलमा छरपस्ट रहेका घाइतेहरुको जुत्ता चप्पल र कपडा

यसैबीच, घटनाका कारण महोत्सवमा गायक खरेको प्रस्तुती र हाउजी बिंगो खेल हुन पाएन । आयोजकले शनिवारको महोत्सव स्थगित गर्यो । माघ ६ देखि १६ गतेसम्मका लागि भन्दै महोत्सव आयोजना गरिएको हो । अब, महोत्सवलाई निरन्तरता दिने वा समापन गर्ने भन्ने विषयमा आइतबार निर्णय गरिने महोत्सव आयोजक उद्योग वाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले जानकारी दिए ।

धनकुटाबाट रिफर गरिएका घाइतेहरूको नामावली:

१) धनकुटा–५ का ३१ वर्षीया विष्णु राई
२) धनकुटा–५ का ६ वर्षीय अबिहाङ लिम्बू विष्णुको छोरा)
३) करिब ४५ वर्षीया गोमा कार्की
४) २२ वर्षीया अनिषा राई
५) ४० वर्षीय नारायण राई
६) ३ वर्षीय बच्चा (नाम नखुलेको)
७) धनकुटा–७ का ६ वर्षीय प्रकट श्रेष्ठ
८) ३३ वर्षीया बुद्दिमाया लिम्बु
९) १७ वर्षीय सबिन पौडेल
१०) ४० वर्षीय सन्दिप साह
११).धनकुटा–४ का १२ वर्षीय प्रवेश राई
१२) धनकुटा–५ की १२ वर्षीया श्रेया कटुवाल
१३) धनकुटा–७ की ३६ वर्षीया हिरा राना
१४) धनकुटा–७ की ३० वर्षीया अनुषा राई
१५) धनकुटा–५ का ३० वर्षीया बिनिता लिम्बु
१६).धनकुटा–५ का १३ वर्षीय सबिन लिम्बु
१७) धनकुटा–५ का ११ वर्षीय सुनिल लिम्बु
१८).धनकुटा–७ का ५० वर्षीय प्रकाश प्रधान

भिडियो हेर्नुहोस्..

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!