- संगालोखबर सम्बाददाता

धनकुटा । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री राजेन्द्र राईले जनताको गरिबी घटाउने गरी काम गर्ने बताएका छन् । सोनाम ल्होछारको अवसरमा धनकुटाको पाख्रीवास नगरपालिका–९ उत्तरपानीस्थित डायूर थर्पोलिङ्ग गुम्बामा आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राईले यस्तो बताएका हुन् ।

Advertisement

सरकारले गरिबी घटाउने उद्देश्यसहित काम गरिरहेको भन्दै मन्त्री राईले त्यसका लागि श्रम गर्ने र उत्पादनमूलक काममा लाग्नेलाई प्रोत्साहन गरिने बताए । काम नगरेमा आर्थिक रूपान्तरण हुन नसक्ने भन्दै उनले उत्पादनमूलक काममा लाग्न सबैलाई आग्रह पनि गरे । ‘काम नगरी आर्थिक र सामाजिक रूपान्तरण हुन सक्दैन, सरकारले पनि श्रम गर्ने र उत्पादनमूलक काम गर्नेलाई प्रोत्साहन गर्छ,’ मन्त्री राईले भने, ‘हामी सबै काममा लागौं, उत्पादनमूलक काम गरौं, आफू पनि समृद्ध बनौं, मुलुकलाई पनि समृद्धिको दिशातर्फ अघि बढाऔँ ।’

मन्त्री राईले मुलुकको परिवर्तनका लागि शैक्षिक, आर्थिक र सामाजिक रूपान्तरणको खाँचो औँल्याए । धनकुटामा गरिबी क्रमिक रुपमा घट्दै गएको प्रति खुशी व्यक्त गर्दै उनले अझै गरिबी घटाउने गरी काममा लाग्न जिल्लावासीलाई आग्रह पनि गरेका छन् ।

फरक प्रसङ्गमा मन्त्री राईले मुलुकको अर्थतन्त्र मजबुत बनाउँन सहकारीले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । सबै जना मिलेर सामूहिक लगानी, सामूहिक उत्पादन र सामूहिक वितरण गरिने हुनाले सहकारी क्षेत्रले समाजको विकासमा निकै टेवा पुर्याएको उनको भनाई छ । सहकारी क्षेत्रमा केही समस्याहरू पनि देखिएको भन्दै उनले त्यस्ता समस्यालाई पहिचान गरेर समाधान गरिने धारणा राखे ।

सबै पर्वको आआफ्नै महत्व रहेको भन्दै उनले सोनाम ल्होछारको सबैलाई शुभकामना पनि दिएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!