- संगालोखबर सम्वाददाता

विराटनगर । मोरङ–सुनसरी औद्योगिक क्षेत्रका पाँच वटा स्थानीय तहले माघ १९ देखि विराटनगरमा हुन लागेको सीएनआई कोसी एक्स्पो–२०७९ को प्रवर्द्धन गरेका छन् । विराटनगर महानगरपालिकासहित औद्योगिक करिडोरभित्रका बुढीगंगा गाउँपालिका, कटहरी गाउँपालिका, रंगेली नगरपालिका र सुनसरीको दुहबी नगरपालिकाले आफ्नो पालिकाका घरेलु तथा साना उद्यमी तथा महिला उद्यमीहरुको प्रोत्साहनका लागि एक्स्पोको प्रवर्द्धनमा सहयोग गरेका हुन् ।

Advertisement

आफ्नो उत्पादनको प्रवद्र्धन गर्न उचित अवसर नपाएका त्यस्ता उद्यमीहरुलाई एक्स्पोमा स्टल राख्नका लागि पालिकाले निर्वाह गरेको भूमिका र सहयोग महत्वपूर्ण बनेको हो । स्थानीय पालिकाहरुले नै उद्यमीहरुको प्रोत्साहनका लागि सहयोग गरेपछि उद्यमीहरुले एक्स्पोमा आफ्ना उत्पादनहरुको प्रचार प्रसार र बजार निर्माणको अवसर पाउने भएका हुन् । पाँच वटा पालिकाबाट छनौट भएर आउने घरेलु तथा महिला उद्यमीहरुले कम्तिमा पाँच वटा र बढीमा १० वटासम्म स्टलहरु एक्स्पोमा निःशुल्क रुपमा प्राप्त गर्ने जनाइएको छ ।

नेपाल उद्योग परिसंघ प्रदेश १ को आयोजनामा विराटनगर–२ शंकरपुर मैदानमा हुन लागेको एक्स्पोको तयारीलाई तीव्रता दिइएको छ । परिसंघका प्रदेश अध्यक्ष भीम घिमिरेले स्थानीय तहले उत्साहजनक रुपमा एक्स्पोको प्रवर्द्धनका लागि सहभागीता जनाएको बताए । जसका कारण अत्यन्तै पछाडि रहेका साना, लघु तथा महिलाहरुले संचालन गरेका उद्यमलाई उपभोक्ताहरुमाझ चिनाउनका लागि अवसर प्राप्त भएको उनले बताए । अध्यक्ष घिमिरेले खुल्ला बजारमा साना उद्यमीहरुकोसमेत पहुँच हुनुपर्ने मान्यता अनुसार पाँच वटा स्थानीय तहमार्फत उनीहरुको सहभागीता सुनिश्चित भएको जानकारी दिए ।

उनले एक्स्पोलाई भव्यता प्रदान गर्न हरेक क्षेत्रबाट तयारी अघि बढिरहेको जानकारी दिए । यसअघि ३ सय ५० वटा स्टल रहने गरी तयारी अघि बढाइएपनि स्टलहरुको माग अत्याधिक भएका कारण एक्स्पोमा कुल स्टलको संख्या ४ सय नाघिसकेको अध्यक्ष घिमिरेले दाबी गरे । एक्स्पोलाई ऐतिहासिक बनाउनका लागि सबै क्षेत्रसँग समन्वय भइरहेको पनि बताए । एक्स्पो अन्तर्राष्ट्रिय स्तरको बनाउने गरी तयारी गरिएको एक्स्पोका सहसंयोजक गिरीजा सारडाले बताइन् । एक्स्पोमा स्वदेशी तथा विदेशी उत्पादन र वस्तुहरुको अवलोकन तथा खरिद गर्न सकिने छ । माघ २८ गतेसम्म १० दिन एक्स्पो लाग्नेछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!