- संगालोखबर सम्वाददाता

पोखरा । गत आइतबार पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएका विमानका पाइलट कमल केसीको सालिक निर्माण गरिने भएको छ । कास्कीको रुपा गाउँपालिका–३ पोल्याङ घर भएका केसीको सम्झनामा रुपा गाउँपालिकाले अर्धकदको सालिकसहित उद्यान निर्माण गर्ने भएको हो ।

Advertisement

दुर्घटनामा निधन भएका ७२ जनाको नाम शिलालेखमा लेख्ने निर्णय पनि भएको छ । गाउँ कार्यपालिका बैठकले केसीको सालिकसहित उद्यान निर्माण गर्ने, शिलालेखमा नाम राख्ने र स्थानीय पाठ्यपुस्तकमा केसीका बारेमा समावेश गराउने निर्णय गरेको गाउँपालिका अध्यक्ष नवराज ओझाले बताए । आफ्नो गाउँपालिकाबाट पहिलो पाइलट एवं प्रशिक्षक बनेका केसीलाई गाउँपालिकाले ०७८ सालमा रुपारत्न सम्मानबाट पनि सम्मानित गरेको थियो ।

अमेरिकामा पाइलट पढेर आएका केसीले २०४६ सालमा नेपाल वायु सेवा निगमबाट पाइलट पेसा सुरु गरेका थिए । केसीले उडाएर आइतबार बिहान काठमाडौँबाट पोखरा ल्याउँदै गरेको जहाज पोखरा विमानस्थलमा अवतरण गर्ने क्रममा करिब दुई किलोमिटर नजिक सेती नदीको खोँचमा दुर्घटना भएको थियो ।

विमानमा चालक दलका चार र ६८ यात्रु गरी ७२ जना सवार थिए । दुर्घटनामा परेकामध्ये ७१ जनाको शव फेला परेको छ, एक जनाको खोजी भइरहेको छ । यो नेपालको आन्तरिक उडान तर्फको सबैभन्दा ठूलो दुर्घटना हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!