संगालोखबर सम्वाददाता

धनकुटा । ‘सम्हालिन्छ कहिले मन, कहिले त्यसै अतालिदिन्छ..’ गीत गाउँदै स्टेज चढेका गायक सुगम पोखरेलले माघको चिसोमा पनि लेगुवाको माहोल तताए । उनको गीत सुनेर दर्शकले मनोरञ्जनमात्र लिएनन्, स्वरमा स्वर मिलाउँदै नाचेर राम बजारमा धुलै उडाए ।

Advertisement

सांगीतिक माहोलमा झुमेका दर्शकलाई माघको कठ्याङ्ग्रिदो चिसोले रोक्न सकेन । उनीहरु मध्यरातसम्मै सांस्कृतिक कार्यक्रममा रमाए । माघे संक्रान्तिको अवसर पारेर महालक्ष्मी नगरपालिका–५ राम बजारमा सांस्कृतिक कार्यक्रम गरिएको हो । महालक्ष्मी नगरपालिका र ५ नं. वडा कार्यालयको सहयोगमा अरुण युवा क्लब, रामबजार व्यवस्थापन समिति र वडा खेलकुद विकास समितिले कार्यक्रम आयोजना गरेका हुन् ।

कार्यक्रममा गायक पोखरेलले ‘भमरा फुलको रसैमा, पर्खिबस मायाले मुग्लिनमा, म आउँछु रात्री बसैमा..’ गीत गाउँदा माहोल झनै तातियो । युवा पुस्ता पोखरेलको गीतमा झुमे, बालबालिकादेखि वृद्धवृद्धासम्म पनि गीतमा नाच्दै रमाए ।

गायक पोखरेलले ‘लखर लखर डुली हिँड्यो, काम छैन काम छैन, खल्ती छाम्दा सुक्को नि दाम छैन..’, मायाँ यो आगो हो, म आफैलाई जलाउँन चाहन्न..’ सहित झण्डै एक दर्जन गीत गाएर दर्शकलाई भरपुर मनोरञ्जन दिलाएका थिए । राती १०ः३० बजे मात्र स्टेज चढेका गायक पोखरेलको प्रस्तुती हेर्न र रमाउँन दर्शकहरू रातमा चिसोको प्रवाह नगरी बसेका थिए । प्रतीक्षामा बसेका दर्शकलाई गायक पोखरेलले एक घण्टा भरपुर मनोरञ्जन दिए ।

सुगम अघि गायक तेजेन्द्र गन्धर्व, परेश राई, टिका मगर र गायिका बबिना किराँतीको प्रस्तुतीमा पनि दर्शकहरू उत्तिकै झुमेका थिए । उनीहरूले पनि दर्शकलाई भरपुर मनोरञ्जन दिलाए । कार्यक्रममा स्थानीय कलाकारहरूले पनि गीत तथा नृत्य प्रस्तुत गरेका थिए । साँझ ५ बजे सुरु भएको कार्यक्रम राती करिब ११ः३० बजेसम्म चल्दा पनि दर्शकहरूबाट ‘वान्समोर’ आवाज गुञ्जिरहेको थियो ।

माघे संक्रान्तिको अवसर पारेर लेगुवामा सांस्कृतिक कार्यक्रमसहित भलिबल प्रतियोगिता र अगुल्टे मेला पनि आयोजना गरिएको कार्यक्रमका प्रबन्धक भरतराज कुँवरले जानकारी दिए । सांस्कृतिक कार्यक्रम अघि दिउँसो अरुण नदी किनारमा मेला लागेको थियो ।

संक्रान्तिकै अवसरमा अन्तर वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता गरिएको हो । धनकुटा, भोजपुर र संखुवासभाका १४ टिम सहभागि प्रतियोगितामा भोजपुरको याङपाङलाई पराजित गर्दै संखुवासभाको पाँचखपनले उपाधि जितेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!