धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–५ रामबजारमा सञ्चालित नगरपालिका/गाउँपालिका अन्तर वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि संखुवासभाको पाँचखपन नगरपालिकाको टिमले जितेको छ । आइतबार भएको फाइनल खेलमा भोजपुर याङपाङको टिमलाई पराजित गर्दै पाँचखपनले उपाधि जित्न सफल भएको हो ।
उपाधिसँगै पाँचखपनले प्रमाणपत्र, मेडल र ट्रफीसहित ४० हजार नगद पाएको छ भने उपविजेता याङपाङले २५ हजारमा चित्त बुझाएको छ । विजेता टिम र खेलाडीहरूलाई महालक्ष्मी नगरपालिकाका प्रमुख ध्रुवराज राय, उपप्रमुख मञ्जु अधिकारी लगायतले पुरस्कार वितरण गरेका छन् ।
माघे संक्रान्तिको अवसर पारेर महालक्ष्मी नगरपालिका र ५ नं. वडा कार्यालयको सहयोगमा अरुण युवा क्लब, रामबजार व्यवस्थापन समिति र वडा खेलकुद विकास समितिले भलिवलसहित मेला र सांस्कृतिक कार्यक्रम आयोजना गरेका हुन् ।
तीन दिनसम्म सञ्चालन भएको प्रतियोगिताको उपाधिका लागि धनकुटा, भोजपुर र संखुवासभाका १४ टिमबीच प्रतिष्पर्धा भएको थियो ।
भिडियो हेर्नुहोस्…