- ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)

ई.सं. २०२३ जनवरी १६ नेपाल सम्बत ११४३ पोहेलागा नवमी, नल नामक संवत्सर, सूर्य उत्तरायणं शिशिर ऋतु, माघ कृष्ण नवमी, चन्द्रमा तुला राशिमा स्वाति नक्षत्र, धृति योग, तैतल करण । नेपालमा सूर्र्याेदय बिहान ६ः५६ बजे, सूर्यास्त साँझ ५ः३१ बजे हुनेछ । आज जन्म लिने बच्चा तुला राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पूरा शरीर ऐनामा हेरेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ६ बजेर ५५ मिनेट देखि ८ बजेर १५ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । आज राष्ट्रिय भुकम्प सुरक्षा दिवस रहेको छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मनोरञ्जन, रामरमाइलो, घुमघाम र भेटघाटको समय हो । आफ्ना कुरा थोपर्नु भन्दा पनि पार्टनरको भावना बुझ्नु जाती हुन्छ । महत्त्वाकाङ्क्षा र असम्भव आशामा अल्झिएर बस्नु राम्रो होइन, घरपरिवारको खुसीका लागि बित्दो काम भए पनि समय निकाल्नु बुद्धिमानी हुनेछ । भौतिक उपकरण वा सुखसुविधाको वस्तु खरिद गर्ने समय हो, नयाँ लगानी गर्नु छ भने जीवनसाथीको नाममा सुरु गर्नुहोस्, फाइदा हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मनमा लुकेका भ्रम र चिन्ता बाहिरिने समय हो, अनावश्यक चिन्तामा रुमल्लिने हुँदा अपेक्षा गरेअनुरूप समयमा काम सिध्याउन मुस्किल पर्ला । परिश्रम र आरामको सन्तुलनमा ध्यान दिनु आवश्यक छ, एकोहोरिएर घोरिंदा स्वास्थ्यस्थिति बिग्रने डर हुन्छ, सचेत बन्नु होला । प्रकृतिमा समय बिताउँदा छटपटी र निराशा हट्नेछ । आफन्तको चाहनालाई बेवास्ता गर्नु हुँदैन, किनभने परिवार भनेको आधारभूत पक्ष हो, तर धनसम्पत्ति र सुखसुविधा साधनमात्र हुन् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कार्य सम्पादनमा सहजता र शीघ्रता हुनेछ, सीप वा योग्यता बढाउने अवसर मिल्नेछ । घरपरिवार वा प्रेयसीका लागि पनि केही समय छुट्याउनु पर्ने हुन्छ । कामबाट फुर्सद निकालेर सङ्केत र हाउभाउको प्रयोग गरी कतै घुमघाममा निस्कने वा किनमेलमा जाने अनुकूलता मिल्नेछ । झैझगडा र मुद्दामामिलाभन्दा एक कदमपछाडि हटेको जाती हुन्छ । तर आज त्यस्तो ज्ञान प्राप्त हुने दिन हो, जसले भविष्यमा राम्रो काम गर्नसक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अन्य व्यापारका तुलनामा सागपात, फलफूल, रत्नमाणिक्य, फोटोग्राफी वा भिडियोमिक्सिङ आदि कारोबारमा मनग्ये लाभ पाउने समय छ । कामधन्दामा एक्लै खट्नुपर्ने दिन हो । आशा देखाउनेहरूले पनि सहयोग गर्ने परिस्थिति बन्दैन, अतः व्यस्त रहँदारहँदै दिन बितेको पत्तो पाइने छैन । पारिवारिक तनावका कारण पढाइ विचलित हुनसक्ने समय छ । अध्ययनका साथसाथ व्यवहारिक कामको सन्तुलन कायम राख्नुपर्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
खासगरी महिलाहरूका लागि विशेष उपलब्धि पाउने समय हो, व्यक्तिगत पहिचान र व्यवसायिक गतिविधिको स्तरोन्नतिका लागि चालेको हरेक कदमले सफलताको शिखर चुम्नसक्छ । आत्मबल र हिम्मतका साथमा काम गरेमा महत्त्वाकाङ्क्षी कार्य शुभारम्भ गर्ने समय छ, कुनै कुरामा दुविधा भएमा सहकर्मीको साथ लिंदा झन राम्रो हुनेछ । नयाँ एवं पुराना मित्रसित भुलिनाले पार्टनरलाई समय प्रदान गर्न सकिंदैन, तर कुनै व्यक्तिगत कार्य सम्पन्न हुने दिन छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कार्यक्षेत्रमा परिवर्तनको धारणा आउनसक्छ, आयका मार्ग सुचारु गर्न र थप आयश्रोत बढाउन चिन्तन गर्ने समय छ । पार्टनरको इच्छानुसार कतै खानपान वा घुमघाममा जानुपर्ने हुन्छ, बजेटको व्यवस्था गरेरमात्र सम्पर्क गर्नु ठीक हुन्छ । स्वास्थ्यस्थितिमा देखिएका समस्या समाधान हुने समय हो, तर कुरा काट्ने र शत्रुहरूको गतिविधि बढ्न सक्छ, सचेत हुनुपर्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सम्बन्धलाई बलियो बनाउन मायाका दुई अक्षर र एउटा मुस्कानमात्र प्रशस्त हुन्छ, त्यसैले जे गर्नुहुन्छ, मनैदेखि गर्नुहोस्, दिन राम्रो बन्नेछ । उच्चशिक्षाका तथा अनुसन्धान गरिरहेका शिक्षार्थीका लागि राम्रो समय छ, तर स्कूले विद्यार्थीमा उच्छृङ्खलता बढ्न सक्छ । आफ्ना सुसुप्त चाहना र सपनालाई जीवन्त तुल्याउने समय आएको छ । सपनाको झिल्को निभ्यो भने प्रगति र विकासका सबै द्वार बन्द हुन्छन् भनी सचेत हुने दिन हो ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आनन्दप्राप्तिका लागि एकअर्काको कमजोरी खोतल्ने काम गर्नु हुँदैन, एकआपसमा समर्पित हुनुपर्छ भन्ने धारणा राख्नु राम्रो हुन्छ । मनमा ठाउँ परिवर्तन गर्ने वा कार्यक्षेत्र बदल्ने सोच सलबलाउने दिन हो । त्यस्तो आकाङ्क्षा भएमा प्रयास गर्नोस् सफलता हात पर्नसक्छ । मार्केटिङ, यातायात व्यवसायी र ढुवानीको क्षेत्रमा केही लाभ लिने समय हो, तर पनि आर्थिक विषयले तनाव बढ्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
विशिष्ट व्यक्तिको सामीप्य पाउन सकिने छ, रोकिएको काम बन्ने तथा जिम्मेवारीसमेत बढ्ने दिन हो । आयको मार्ग सबल बन्नाले थप हौसला प्राप्त हुनेछ । घरजग्गा व्यवसायीले कुनै लाभदायक सम्झौता गर्नसक्छन्, तर सहकार्यमा कुनै काम गर्दै हुनुहुन्छ भने अर्काको भरमा मात्र ढुक्क पर्नु ठीक हुँदैन । जीवनसाथीका साथमा कतै घुमघाममा जाने वा किनमेलमा निस्कने योजना बनाउनुहोस्, जसले तपाईंको निरस जीवनलाई स्वस्थ तुल्याउनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
परीक्षा, अन्तर्वार्ता वा प्रतियोगिता नजिकै आएको छ भने कडा परिश्रमपछि मात्र सफलता पाइने समय भएकाले अध्ययनमा लागी पर्नु उचित हुन्छ । सामाजिक दायित्व र जिम्मेबारी थपिने समय छ । कार्यक्षेत्रमा हाकिम वा गुरुवर्ग तथा घरमा अभिभावकको विचार र भावना ग्रहण गर्ने दिन हो, सेवाचाकरीमा पनि समय दिनुपर्ने हुन्छ । दिन नरमाइलो छैन, यद्यपि काममा सक्दो खट्नुपर्ने दिन हो । अन्त्यसम्म व्यस्त रहनु पर्नेछ, तर मिहिनेत गरेअनुसार राम्रै प्रतिफल हात लागी हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मानसिक रूपमा सबल र परिपक्व बन्ने समय हो, आज पठनपाठनका क्रममा सहपाठी र शिक्षकहरूबाट सहयोग जुटाउन सकिने छ । मान्यजन र वरिष्ठ व्यक्तित्वसँग निकटता बढ्नेछ, कर्मप्रति समर्पित भइने छ । दीनदुःखी, रोगी र पाको व्यक्तिलाई सहयोग गर्न पाउँदा एउटा छुट्टै आनन्दको आभास हुनेछ । राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ, विभिन्न अवसर प्राप्त हुनाका साथै उच्च अधिकृतहरूसँग उठबस र मित्रता हुनसक्ने समय हो ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
विश्वस्त व्यक्ति वा आफन्तले नै विश्वासघात गर्ने दिन हो, अझ भ्रमका पछि कुद्ने हुँदा तनाव र झञ्झट बढ्नसक्ने अनि बलजफ्ती गर्नेहुँदा चोटपटक नै लाग्नसक्ने दिन हो । करियर वा कामधाममा कुनै किसिमको बाधा देखिएको छ भने तनाव लिनुको सट्टा कामको गुणस्तर सुधारका लागि प्रयास गर्नु राम्रो हुन्छ । कुरा काट्ने र विरोध गर्नेले षड्यन्त्रको तानाबुना रच्न खोज्दैछन्, अझ परिवारका सदस्य र आफन्तको गतिविधिसमेत सन्तोषजनक नहुँदा खिन्नता बढ्ने परिस्थिति छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!