- संगालोखबर सम्वाददाता
तस्वीर: सुशिल श्रेष्ठ

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका–६ स्थित सिधुवा बजारमा गएराती भएको आगलागीमा चार वटा घर जल्दा ४९ लाख बराबरको क्षति भएको छ । काउली चोक नजिकका सन्तबहादुर राईको घरबाट साँझ करिब ७ः३० बजे सुरु भएको आगोले छिमेकका घरमा पनि क्षति पुर्याएको हो ।

सन्तबहादुरको घर भाडामा लिएर ललिता राईले सञ्चालन गरेको फ्रेस हाउसबाट आगलागी सुरु भएको थियो । आगोले सन्तबहादुरको घरसहित छिमेकी झमक थापा र अर्जुन घिमिरेको घर जलेको छ । त्यस्तै, डिकबहादुर खड्का र होम बहादुर थापाको संयुक्त घरपनि आगोले जलेको छ ।

सन्तबहादुरको घर पूर्ण रुपमा ध्वस्त हुँदा २ तोला सुन, २ लाख नगद, २० वटा कुखुरा लगायत सामाग्री जलेका छन् । बाँकी घरमा भने आंशिक क्षति भएको प्रहरीले जनाएको छ । डम्बर थापाको करिब ५० हजार बराबरको काठ पनि जलेर नष्ट भएको छ । आगलागीमा ४९ लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

आगलागी सुरु भएको दुई घण्टापछि राती करिब ९ः३० बजे आगो नियन्त्रणमा आएको हो । धनकुटा नगरपालिका र तेह्रथुमको लालिगुराँस नगरपालिकाबाट दमकल आगो नियन्त्रणका लागि आएका थिए ।

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयबासीले दमकलको सहयोगमा आगो निभाएका हुन् । आगलागीको कारण खुल्न सकेको छैन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!