- संगालोखबर सम्वाददाता

धनकुटा । अदालतको आदेश लत्याउँदै वडाध्यक्षले नागरिकताको सिफारिस दिन नमानेपछि स्थानीयबासीले आज धनकुटाको महालक्ष्मी नगरपालिका ७ नं. वडा कार्यालय घेराउ गरेका छन् । सयौँको संख्यामा स्थानीयवासी भेला भएर वडा कार्यालय घेराउ गरेका हुन् ।

Advertisement

बिहान १० बजेनै स्थानीयवासी वडा कार्यालय घेराउका लागि पुगेका थिए । उनीहरूले वडाध्यक्ष नेत्रबहादुर अधिकारीविरुद्ध नाराबाजीसहित प्रदर्शन गरिरहेका छन् । वडा कार्यालय परिसरमै उनीहरूले वडाध्यक्ष अधिकारीविरुद्ध चर्को नारावाजीसहित प्रदर्शन जारी राखेका छन् ।

नागरिकताको सिफारिसका लागि सबै प्रकृया पुरा गरेर आएका महालक्ष्मी–७ लुम्लीका खेमराज अधिकारीलाई सिफारिस दिन वडाध्यक्षले नमानेपछि स्थानीयवासी आक्रोशित भएका हुन् । अदालतको आदेशसमेत नमानेर वडाध्यक्ष अधिकारीले सेवाग्राहीलाई दुखदिने काम गरेकाले विरोधमा उत्रनु परेको स्थानीय लोकेन्द्र श्रेष्ठले बताए ।

भिडियो हेर्नुहोस्…

के हो घटना ?

महालक्ष्मी–७ लुम्लीका खेमराज अधिकारी नागरिकता बनाउँन २०७४ सालमा सिफारिसका लागि वडा कार्यालय आएका थिए । तर, वडा कार्यालयले सिफारिस नदिएपछि उनले अदालतमा मुद्दा दायर गरे । उच्च अदालत धनकुटा इजलासले खेमराजकै पक्षमा फैसला गर्यो । अदालतले खेमराजलाई नागरिकताको सिफारिस दिन वडा कार्यालयलाई आदेशसमेत दिइसकेको छ । तरपनि वडाध्यक्ष अधिकारीले सिफारिस दिन अटेर गरेपछि पीडित पक्षले गत पुस २१ गते कार्यालयमा तालाबन्दी गरे । तालाबन्दीका कारण समस्या परेको अन्य सेवाग्राहीले गुनासो गरेपछि उनीहरूले सोही दिन ताला खोले । तर, अहिलेसम्म पनि वडाध्यक्षले नागरिकताको सिफारिस दिन आनाकानी गरेपछि पीडित अधिकारीको पक्षमा स्थानीयबासीले पनि साथ दिएर वडाध्यक्षविरुद्ध प्रदर्शनमा उत्रिएका हुन् ।

वडाध्यक्ष नेत्रबहादुर र नागरिकताको सिफारिस लिन आएका खेमराज नाताले बढाउ–भतिज हुन् । वडाध्यक्ष नेत्रबहादुरका भाइ पर्ने जंगबहादुरले दुई वटा बिवाह गरेका छन् । उनकी जेठी श्रीमतीबाट खेमराजको जन्म भएको हो । श्रीमानको परिवारले घरमा बस्न समस्या पारेको भन्दै आमा कुलादेवी राया अधिकारीले छोरा खेमराजलाई साथमा लिएर मोरङको इटहरास्थित माइती घर बस्दै आएकी छन् । उनका श्रीमान जंगबहादुर भने अर्को विवाह गरेर अहिले भक्तपुरमा बसोवास गर्ने गर्छन् । उनको कान्छि श्रीमतीबाट एक छोरा र एक छोरीको जन्म भएको छ ।

कान्छी आमा लिएर हिँडेका बुबाले आफूलाई नागरिकता बनाउँन असहयोग गरेको खेमराज बताउँछन् । भाईको दबाबमा दाजु नातापर्ने वडाध्यक्ष नेत्रबहादुरले नागरिकताको सिफारिस नदिएर आफूलाई नागरिकताबाटै बञ्चित गराउँन खोजेको खेमराजको गुनासो छ । जेठी श्रीमतीसँग विवाह दर्ता नभएकाले सोही कुरालाई आधार बनाएर जंगबहादुरले छोरा खेमराजलाई नागरिकता बनाउँन असहयोग गरेको र वडाध्यक्ष नेत्रबहादुरले पनि त्यसैमा साथ दिएको स्थानीयवासीको बुझाई छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!