- संगालोखबर सम्बाददाता

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज प्रतिनिधि सभा बैठकबाट विश्वासको मत लिँदै छन् । उनलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र तीन सांसदको समर्थन छ ।

Advertisement

नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम यही पुस १० गते नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल प्रधानमन्त्रीमा नियुक्त भएका थिए । प्रधानमन्त्री पदमा नियुक्त भएको ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान छ । सोही अनुसार प्रधानमन्त्री प्रचण्डले मंगलबार प्रतिनिधि सभा बैठकबाट विश्वासको मत लिने भएका हुन् ।

२७५ सदस्यीय प्रतिनिधि सभाको विश्वास लिन प्रधानमन्त्रीलाई १३८ सांसदको समर्थन आवश्यक पर्छ । प्रचण्डले आफू विश्वासको मत प्राप्त गर्नेमा विश्वस्त रहेको बताएका छन् । प्रतिनिधि सभाको सोमबारको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानीमा उनले विश्वासको मत प्राप्त गर्ने कुरामा आफू विश्वस्त रहेको बताए ।

उनले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबै दल तथा स्वतन्त्र सांसदहरूसँग विश्वासको मत दिन आग्रहसमेत गरेका छन् । प्रधानमन्त्री प्रचण्डले सोमबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरी विश्वासको मत दिन आग्रह गरेका छन् । धुम्बाराहीस्थित सभापति देउवाको निवासमै पुगेर प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत दिन आग्रह गरेका हुन् । सभापति देउवाले मंगलबार बिहान पार्टीको संसदीय दलको बैठकमा छलफल गरेर निर्णयमा पुग्ने प्रधानमन्त्री प्रचण्डलाई जवाफ दिएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!