संगालोखबर सम्वाददाता

विराटनगर । विराटनगर महानगरपालिकाले केवल तथा नेटको तार व्यवस्थापनको काममा कडाइ गर्ने भएको छ । केवल तथा नेट व्यवसायीहरूलाई सोमबार बोलाएर महानगरले तारको व्यवस्थापन गर्न निर्देशन दिएको छ । बिहीबारदेखि बजार क्षेत्रको तार व्यवस्थापनको कामलाई तिव्रता दिने महानगरको तयारी छ ।

Advertisement

पहिलो चरणमा हिमालय रोडबाट तारको व्यवस्थापन थालिनेछ । अटेर गर्ने कम्पनीको तार काट्न मेयर नागेश कोइरालाले सम्बन्धित शाखालाई निर्देशन दिइसकेका छन् । केवल र नेटको तारका कारण महानगरको सौन्दर्यता घटेको भन्दै मेयर कोइरालाले तार व्यवस्थापनमा कडाइका साथ प्रस्तुत हुन निर्देशन दिएका हुन् ।

यसअघि गत असोज १३ गते पनि बैठक राखेर केवल तथा नेट व्यवसायीलाई तार व्यवस्थापन गर्न निर्देशन दिइएको थियो । यसअघिको निर्णय र निर्देशन कार्यान्वयन नभएपछि समयसीमा नै तोकेर कडाइ गर्न लागिएको मेयर कोइरालाले बताए । ‘अव्यवस्थित तारका कारण विराटनगरको सुन्दरतामा कमी आएको छ, अव्यवस्थित तार हटाउनुपर्छ,’ मेयर कोइरालाले भने, ‘केवल तथा नेट व्यवसायीहरूले आफै व्यवस्थित गर्नु भएन भने हामी आफैं तार काटेर हटाउँछौं ।’

उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाको समेत उपस्थितिमा भएको बैठकले चैत मसान्तभित्र विराटनगरका सबै तार व्यवस्थापन गरिसक्ने निर्णय गरेको छ । केवल तथा नेट व्यवसायीहरू आफैँले तारको व्यवस्थापन गर्नुपर्नेछ । व्यवस्थापन नगर्ने कम्पनीका तार महानगरले काटेर हटाउनेछ ।

तार व्यवस्थापनका लागि सहजीकरण गर्न महानगरले इन्जिनियर अनिल सिंहलाई जिम्मेवारी तोकेको छ । बैठकमा नेपाल टेलिकम, म्याक्स, सुविसु, वल्र्डलिंकलगायत विभिन्न कम्पनीका प्रतिनिधिहरू सहभागि थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!