संगालोखबर सम्वाददाता

विराटनगर । विराटनगरमा सवारी पार्किङ स्थान र पार्किङ शुल्क निर्धारण गरिएको छ । विराटनगर महानगरको ट्राफिक व्यवस्थापनका लागि अध्ययन गर्न गठित समितिले महानगरलाई बुझाएको प्रतिवेदनलाई आधार मानेर पार्किङ स्थान र शुल्क  निर्धारण गरिएको हो ।

Advertisement

महानगर प्रहरी प्रमुख राजन पौडेलको संयोजकत्वमा जिल्ला ट्राफिक प्रहरी प्रमुख राजकुमार कार्की र महानगरको राजस्व महाशाखाका अधिकृत सुशील दाहाल सदस्य रहने गरी महानगरले गत मंसिर १९ गते अध्ययन समिति गठन गरेको थियो । गठित समितिले आइतबार महानगरको यातायात व्यवस्थापन समितिका संयोजक तीर्थेन्द्र न्यौपानेलाई ९ वुँदे प्रतिवेदन बुझाएको हो ।

अध्ययन समितिको प्रतिवेदनका आधारमा आइतबार नै बसेको यातायात व्यवस्थापन समितिको बैठकले पार्किङ व्यवस्थापन गर्ने निर्णय गरेको छ । समितिले विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको पुरानो गुद्री र ए–प्लटसहित मुख्य बजार क्षेत्रका विभिन्न स्थानमा पार्किङ गर्न सकिने भनेर बुझाएको प्रतिवेदनलाई समितिको बैठकले अनुमोदनसमेत गरेको छ ।

मुख्य बजारभित्र खाली रहेका निजी जग्गालाई समेत पार्किङका लागि प्रयोग गरिने भएको छ । त्यसका लागि महावीर रोड उत्तर तथा शनि मन्दिर पूर्व दक्षिणस्थित मास्के परिवारको नाममा रहेको जग्गामा पार्किङ व्यवस्थापनका लागि महानगरले सम्झौता गरिसकेको छ । त्यस्तै विभिन्न ठाउँमा रहेका प्रयोगविहीन खाली जग्गामा पार्किङ व्यवस्थापनका लागि सम्बन्धित जग्गाधनीसँग सम्झौता प्रक्रिया अगाडि बढिसकेको महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले जानकारी दिए ।

यसैबीच, बैठकले पार्किङका लागि शुल्कसमेत तोकेको छ । समितिका अनुसार मोटरसाइकल पार्किङ बापत प्रति ३ घन्टासम्मका लागि १० रुपैयाँ र चार चक्केका लागि प्रति ३ घन्टा २० रुपैयाँका साथै ठूला सवारी साधनका लागि ५० रुपैयाँ लाग्नेछ । व्यापारीहरूलाई समस्या नहोस् भनेर मासिक लिनेगरी शुल्क निर्धारण गरिएको छ । मासिक रुपमा बुझाउन चाहनेलाई दुई चक्केका लागि ५ सय र चार चक्केका लागि १ हजार तोकिएको यातायात व्यवस्थापन समितिका संयोजक न्यौपानेले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!