- संगालोखबर सम्बाददाता

धनकुटा । नागरिकताको सिफारिस दिन वडाध्यक्षले नमानेपछि महालक्ष्मी नगरपालिका वडा नं.७ को कार्यालयमा आज तालाबन्दी गरिएको छ । अदालतको आदेशलाई लत्याउँदै वडाध्यक्ष नेत्रबहादुर अधिकारीले नागरिकताको सिफारिस नदिएको भन्दै वडा कार्यकालमा ताला लगाइएको हो ।

Advertisement

महालक्ष्मी–७ लुम्लीका खेमराज अधिकारी नागरिकता बनाउँन २०७४ सालमा सिफारिसका लागि वडा कार्यालय आएका थिए । तर, वडा कार्यालयले सिफारिस नदिएपछि उनले अदालतमा मुद्दा दायर गरे । उच्च अदालत धनकुटा इजलासले खेमराजकै पक्षमा फैसला गर्यो । अदालतले खेमराजलाई नागरिकताको सिफारिस दिन वडा कार्यालयलाई आदेशसमेत दिइसकेको छ । तरपनि वडाध्यक्ष अधिकारीले सिफारिस दिन अटेर गरेपछि पीडित पक्षले वडा कार्यालयमा ताला लगाएका हुन् । वडाध्यक्ष नेत्रबहादुर र नागरिकताको सिफारिस लिन आएका खेमराज नाताले बढाउ-भतिज हुन् । वडाध्यक्ष नेत्रबहादुरका भाइ पर्ने जंगबहादुरले दुई वटा विवाह गरेका छन् । उनकी जेठी श्रीमतीबाट खेमराजको जन्म भएको हो ।

श्रीमानको परिवारले घरमा बस्न समस्या पारेको भन्दै आमा कुलादेवी राया अधिकारीले छोरा खेमराजलाई साथमा लिएर मोरङको इटहरास्थित माइती घर बस्दै आएकी छन् । उनका श्रीमान जंगबहादुर भने अर्को विवाह गरेर अहिले भक्तपुरमा बसोवास गर्ने गर्छन् । उनको कान्छी श्रीमतीबाट एक छोरा र एक छोरीको जन्म भएको छ ।

कान्छी आमा लिएर हिँडेका बुबाले आफूलाई नागरिकता बनाउँन असहयोग गरेको खेमराज बताउँछन् । भाइको दबाबमा दाजु नातापर्ने वडाध्यक्ष नेत्रबहादुरले नागरिकताको सिफारिस नदिएर आफूलाई नागरिकताबाटै बञ्चित गराउँन खोजेको खेमराज बताउँछन् । ‘मैले नागरिकता बनाउँन खोजेको पाँच वर्ष भइसक्यो, सुरुमा सिफारिस नपाएपछि अदालतमा मुद्दा हालियो, अदालतले पनि नागरिकताको सिफारिस दिनु भनेर फैसला गरेको छ, तर वडाध्यक्ष बहानाबाजी गरेर सिफारिस दिदैनन्,’ प्रश्न गर्दै खेमराज भन्छन्, ‘वडाध्यक्षले अदालतको आदेश नमानेर जे मन लाग्यो त्यही गर्न मिल्छ ?’

जेठी श्रीमतीसँग विवाह दर्ता नभएकाले सोही कुरालाई आधार बनाएर जंगबहादुरले छोरा खेमराजलाई नागरिकता बनाउँन असहयोग गरेको र वडाध्यक्ष नेत्रबहादुरले पनि त्यसैमा साथ दिएको जानकारहरू बताउँछन् । अदालतले आफ्नो पक्षमा फैसला गरेपछि खेमराज आमा कुलादेवीलाई लिएर एक साता अघिदेखि वडा कार्यालय धाइरहेका छन् । तर, बढाउ नाता पर्ने वडाध्यक्ष नेत्रबहादुरले सिफारिस दिन आनाकानी गर्दै झुल्याइरहेकाले कार्यालयमा तालाबन्दी गर्नुपरेको खेमराजले बताए ।

यता, महालक्ष्मी नगरपालिकाकी उपप्रमुख मञ्जु अधिकारी पनि वडाध्यक्ष गैरजिम्मेवार बन्दा खेमराजले नागरिकता पाउन समस्या झेल्नु परेको बताउँछिन् । अदालतले आदेश दिइसकेको हुनाले वडाध्यक्षले नागरिकताको सिफारिस दिनुपर्ने उपप्रमुख अधिकारीको भनाई छ । यता, यो विषयमा प्रतिक्रिया लिन वडाध्यक्ष नेत्रबहादुरलाई फोन सम्पर्क गर्दा उनीसँग सम्पर्क हुन सकेन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!