- संगालोखबर सम्वाददाता

विराटनगर । विराटनगरबाट मोटरसाइकल र स्कुटर चोरी गरेको आरोपमा ४ जना पक्राउ परेका छन् । पुस १४ गते राती विराटनगर महानगरपालिका–९ ठाकुरवाडी रोडबाट प्रदेश नं.–०१–०२–०४२ प ३७७७ नम्बरको मोटरसाइकल हराएको थियो ।

Advertisement

मोटरसाइकल हराएको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी टोली खोजतलासमा खटिएको थियो । सोही क्रममा मोटरसाइकल चोरीमा संलग्न रहेका धनपालथान गाउँपालिका–७ का २१ वर्षीय रविन राजवंशी, बुढिगंगा गाउँपालिका–७ का २५ वर्षीय पञ्चदेव खवास र विराटनगर–१९ का २१ वर्षीय विकेश खवासलाई चोरीको मोटरसाइकलसहित पक्राउ गरिएको हो ।

त्यस्तै सोही दिन विराटनगर–८ मधुमाराबाट प्रदेश नं.–०१–०२–००५१ प १०२७ नम्बरको स्कुटर हराएको थियो । प्रहरी खोजतलास गर्दा स्कुटर चोरीमा संलग्न स्थानीय २० वर्षीय सतिस मुखियालाई स्कुटरको पार्ट पुर्जा खोल्दै गरेको अवस्थामा पक्राउ गरेको हो ।

पक्राउ परेका चारै जनाविरुद्ध चोरी सम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!