- संगालोखबर सम्वाददाता

काठमाडौं । सन् २०२२ मा ६ लाख १४ हजार १४८ जना पर्यटक नेपाल भित्रिएका हुन् । कोरोना महामारीपछि यो सबैभन्दा धेरै हो । महामारीका कारण सन् २०२० मा शून्यप्रायः देखिएको पर्यटक आगमन सन् २०२२ मा सुधार भएको हो ।

Advertisement

नेपाल आउने पर्यटकमध्ये सबैभन्दा धेरै सार्क मुलुकका छन् । सार्क मुलुकका पर्यटकको संख्या दुई लाख ४६ हजार छ । यस्तै युरोपेली मुलुकबाट एक लाख ३३ हजार र अमेरिकी मुलुकका ८६ हजार पर्यटक नेपाल आएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

पछिल्लो समय भारतीय पर्यटकको आगमनमा थप सुधार देखिएको छ । कोरोनाका कारण लामो समय घरभित्रै सीमित रहेकाहरू बिस्तारै भ्रमणमा निस्कन लागेकाले पर्यटन आगमनमा थप सुधार हुँदै गएको हो ।

भारतीय पर्यटक बढाउन भारतका सबै राज्यका ट्राभल एसोसिएसन अफ इन्डियाका ७० जना एजेन्टलाई यही जनवरी २८ देखि नेपाल भ्रमणमा बोलाउने र काठमाडौँ, पोखरालगायतका प्रमुख पर्यटकीय गन्तव्यको अवलोकन गराउने बोर्डको तयारी छ । युरोप र अन्य एसियाली मुलुकभन्दा सार्क राष्ट्रका अधिक पर्यटक भित्र्याउने तयारीअनुसार उक्त देशहरूमा नेपाल प्रवर्द्धनको अभियान अगाडि बढाउने तयारी पनि बोर्डको छ ।

आरोहण, ट्रेकिङ र विभिन्न सभा सम्मेलनमा सहभागी हुन आउने विदेशी नागरिकको संख्या बढ्दै गए पनि वास्तविक पर्यटकका रूपमा नेपाल घुम्न आउने खर्चालु पर्यटकलाई समेत नेपालतर्फ आकर्षित गर्ने कार्यक्रम सञ्चालन गर्ने बोर्डको योजनामा छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!