- ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)

ई.सं. २०२३ जनवरी २ नेपाल सम्बत ११४३ पोहेलाथ्व एकादशी, नल नामक संवत्सर, सूर्य दक्षिणायन हेमन्त ऋतु,पुष शुक्ल एकादशी, चन्द्रमा मेष राशिमा भरणी नक्षत्र, सिद्ध योग, वजिण करण । नेपालमा सूर्र्याेदय बिहान ६ः५५ बजे, सूर्यास्त साँझ ५ः२१ बजे हुनेछ । आज जन्म लिने बच्चा मेष राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरीर ऐनामा हेरेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ६ बजेर १४ मिनेट देखि ८ बजेर १२ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । आज पुत्रदा एकादशी व्रत परेको छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ
कार्यालयमा कामको चाप बढेको देखिन्छ, तर पारिवारिक समस्या हल गर्न काममा खट्ने अनुकूलता मिल्दैन । सहयोगी कर्मचारी र हाकिम रुष्ट हुने दिन हो । आनन्दप्राप्तिका लागि एकअर्काको कमजोरी खोतल्ने काम गर्नु हुँदैन, एकआपसमा समर्पित हुनुपर्छ भन्ने धारणा राख्नु राम्रो हुन्छ । आजको दिन मानसिक तनाव र चिन्ता बढ्ने समय हो । शत्रु र प्रतिस्पद्र्धीको गतिविधिप्रति ध्यानकेन्द्रित हुनसक्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
जोखिम मोलेर गरेको कुनै कामबाट लाभ पाउन सकिने छ, बुद्धि र विवेकको प्रयोग गरी विगतमा गुमाएका कतिपय विषयवस्तुलाई समेत पुनः प्राप्त गर्न सकिने छ । कामधन्दामा सहजताको अनुभूति हुनेछ, घरपरिवारमा पनि समझदारी रहने छ । अझ साथीसंगी र बाल्यावस्थाका मित्रसँग भेटघाट हुनाले दिन रमाइलो बन्नसक्छ । आफूभन्दा कमजोर भाइबहिनी वा साथीहरूलाई अर्तिबुद्धि दिन मन लाग्छ वा संस्कार र संस्कृतिका बारेमा समेत सिकाउने समय हो ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
लामो समयदेखि गर्न नभ्याएको कुनै काम टुङ्गोमा पुर्याउन प्रयास गरिने छ, तर अरुको आश नगरी आफ्नो काममा आफैं खट्नुपर्ने परिस्थिति देखिन्छ । बहुप्रतीक्षित महत्त्वाकाङ्क्षा सिद्ध हुने दिन हो । हाकिम वा नेतृत्व पङ्क्तिका विशिष्ट व्यक्तित्वको सहयोग जुटाउन सकिन्छ । व्यवसायिक र आन्तरिक जीवनमा तालमेल मिलाउन हम्मेहम्मे पर्नेछ, समय निकालेर लवमेटसँग कुराकानी गर्नु बेस हुन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
गरिआएको कामधन्दा र पेसामा उन्नति हुने र सम्मान पाउने समय हो । ज्ञान र सीप बढाउने मनसाय बन्नसक्छ, त्यस्तै ठूलाबडा र विद्वान्हरूका साथमा घुलमिल हुने अवसर मिल्नेछ । साझेदारीको कामबाट फाइदा हुनेछ । धार्मिक र आध्यात्मिक चेतना बढ्नेछ, इमानजमानको ख्याल राख्नु तथा नियमकानूनको पालना गर्नु उचित हुनेछ । घरपरिवारका सदस्यहरुसँग पूर्ण समय हर्षोल्लासका साथमा बित्नेछ । पतिपत्नी एकसाथ कतै घुमघाममा वा किनमेलमा जाने अनुकूलता मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
बारम्बार नकारात्मक धारणामात्र आइरहने छ, कसैको असम्भव आशामा वा बहकाउमा नफँस्नु होला, तपाईंको भावनाको कदर हुनेछैन । अहङ्कार, अडान र आडम्बर कमजोरी बन्नसक्छन्, त्यसैले तिनलाई त्यागेर आफन्त र खासगरी जीवनसाथीको भावना बुझिदिनु, कुरा सुन्नु अनि आफू व्यवहारिक बन्नु राम्रो हुनेछ । यन्त्र वा उपकरणको प्रयोगमा सावधानी अपनाउनु ठीक हुन्छ । विवाद वा लफडामा पछि हटेको बेस हुन्छ, कुनै समस्या परेमा सिनियर कर्मचारीको सहयोग लिनु होला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
रूचि र इच्छाअनुसार अधिकतम समय बिताउन मनलाग्छ, जस्तै चुनौती देखिए पनि चलाखीपन र बुद्धिकौशलका माध्यमबाट समस्यालाई हल गर्ने सामथ्र्य प्राप्त हुनेछ । अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिने राम्रो दिन छ, तर आज कार्यक्षेत्रबाट फुर्सद निकालेर आनन्द र मस्तीमा भुलिने समय हो । मनोरञ्जन, रामरमाइलो, घुमघाम र भेटघाटको समय हो । आफ्ना कुरा थोपर्नु भन्दा पनि पार्टनरको भावना बुझ्नु जाती हुन्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
खेलकुद, उपहार सामाग्री, स्वास्थ्य र सरसफाइको व्यवसायमा राम्रै देखिन्छ, तर सँगीसाथी र साझेदारको क्रियाकलाप चित्तबुझ्दो नलाग्न सक्छ । आफ्नो काममा मात्र ध्यानकेन्द्रित गर्ने दिन हो । अर्काको काम वा विषयवस्तुमा ध्यान दिएमा अवगाल वा अपजस खेप्नुपर्ने समय छ । परिश्रम र आरामको सन्तुलनमा ध्यान दिनु आवश्यक छ, एकोहोरिएर घोरिंदा स्वास्थ्यस्थिति बिग्रने डर हुन्छ, सचेत बन्नु होला ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आफैंले कुनै प्राविधिक वा सीपमूलक ज्ञान प्राप्त गरेर लाभान्वित बन्ने समय छ, उता घरमा छोराछोरी वा भाइबहिनीका समस्यामा केन्द्रित हुनुपर्नेछ । कामबाट फुर्सद निकालेर सङ्केत र हाउभाउको प्रयोग गरी कतै घुमघाममा निस्कने वा किनमेलमा जाने अनुकूलता मिल्नेछ । बुद्धिको सही प्रयोग गरी प्रतिष्ठा आर्जन गर्न सकिने राम्रो दिन छ, तर कल्पना र भावनामा मन रुमल्लिन सक्छ । सचेतताका साथमा काममा लागी पर्नु ठीक हुन्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
परिबन्द र बाध्यतामा खुम्चनु पर्दा मन निरस बन्नसक्छ, चाहँदाचाहँदै पनि पार्टनरको इच्छानुसार समय दिन नपाउँदा झन नरमाइलो लाग्नसक्छ । थोरै परिश्रम र सानो लगानी भए पनि प्रशस्त लाभ उठाउन सकिने समय छ, विलासिताका सामाग्री एवं कुनै भौतिक उपकरणको खरिद हुनेछ, घरपरिवारबाट शुभ समाचार प्राप्त हुनेछ । हाँकेरताकेको कुनै काम रोक्नुपर्ने हुन्छ । नयाँ लगानीका लागि उपयुक्त समय होइन, बरु वातावरण र परिस्थितिमा केन्द्रित हुनुपर्ने समय हो ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
व्यक्तिगत कार्यमा सफलता मिल्नेछ तर पारिवारिक दायित्व र जिम्मेबारी बढिरहने समय हो । बरु दाजुभाइ वा माइतीपक्षको सरसहयोग जुटाउन सक्नुहुन्छ । अरुका समस्यामा दौडधूप गर्नुपर्ने समय छ, यसरी सहयोग गर्ने हुँदा अध्ययनमा बाधा पुग्नसक्छ, तर पनि सन्तुष्टि प्राप्त हुने दिन हो । धार्मिक वा सामाजिक गतिविधिमा सक्रिय हुनुपर्ने समय छ, दुःखमा परेका व्यक्तिको सहयोग गर्न पाउँदा भाग्यबृद्धि हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
बडो आनन्द र उमङ्गका साथमा समय बित्नेछ । जीवनसाथीको पदप्रतिष्ठामा अभिबृद्धि हुनेछ र आम्दानीका मार्गहरू पनि बढ्नेछन् । बोलीमा विशेष बल छ, मौखिक अभिव्यक्ति वा कलाको क्षेत्रमा अझ सफल भइने छ । सानो प्रयासले भाग्य र भविष्य सपार्न सकिन्छ । एकाग्रतामा कमी हुने भएकाले कुनै एउटा विषयमा मात्र ध्यान केन्द्रित गर्न सकिंदैन, तथापि मस्तिष्क अत्यन्त क्रियाशील रहने दिन हो ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
व्यक्तिगत उन्नति र प्रगतिको समाचारले मन प्रसन्न हुनेछ, अझ पार्टनरबाट शुभकामना प्राप्त गर्नाले थप सन्तुष्टि र आनन्दको अनुभूति हुनेछ । अत्यन्त सुखभोग गर्न पाइने छ । प्रतिभा, दक्षता र योग्यता प्रदर्शन गर्नाले राम्रो परिणाम प्राप्त हुनेछ । महत्त्वपूर्ण व्यक्तित्व र विद्वान्हरू सम्पर्कमा रहनेछन् । नयाँ अनुभवका साथ कसरी अघि बढ्ने भन्ने चिन्तामा केन्द्रित भइने छ, हिसाबकिताबको लेखाजोखा र व्यवस्थापकीय जिम्मेबारीका लागि समय छुट्याउनु पर्ने हुन्छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!