- संगालोखबर सम्बाददाता

विराटनगर । विराटनगर–१४ स्थित डिग्री कलेजको मैदानमा मंसिर २९ देखि सुरु भएको विराट एक्स्पो आइतबार सकिएको छ । ११ दिनसम्म सञ्चालन भएको एक्स्पोमा १५ करोड रुपैयाँ बराबरको कारोबार भएको आयोजकले दावी गरेको छ ।

Advertisement

तीन लाख भन्दा बढी दर्शकले एक्स्पो अवलोकन गरेको र एक्स्पो अवधिभर १५ करोड बराबरको कारोबार भएको प्रचारप्रसार समिति संयोजक नन्दकिशोर राठीले बताए । आर्थिक एवं औद्योगिक विकास प्रवर्द्धन गरी आर्थिक गतिविधिलाई चलायमान बनाउने उद्देश्यले आयोजना गरिएको एक्स्पोमा प्रदर्शक, प्रयोजक र दर्शकको उत्साहजनक सहभागिता भएको एक्स्पो आयोजक समितिले दावी गरेको छ ।

एक्स्पो समापन कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले विराटनगरका उद्योगीहरूले बारम्बार औद्योगिक प्रदर्शनी स्थलको माग गरिरहे पनि प्रदेश सरकारले चाहँदा चाहँदै पनि औद्योगिक प्रदर्शनी स्थल निर्माण गर्न नसकेको बताए । उनले प्रदेश सरकार, विराटनगर महानगरपालिका र निजी क्षेत्रले सहकार्य गरेर औद्योगिक प्रदर्शनीस्थल निर्माण गर्नपर्ने बताए ।

उद्योग संगठन मोरङका अध्यक्ष सुयस प्याकुरेलले सङ्गठनले २०५३ सालदेखि निरन्तर रुपमा एक्स्पो आयोजना गर्दै आएपनि एक्स्पो आयोजनाका लागि स्थायी स्थलको अभाव खड्किरहेको गुनासो गरे । विराटनगरमा स्थायी प्रदर्शनी स्थल निर्माणका लागि उद्योगी व्यवसायीले लामो समयदेखि सरकारका सबै निकायहरूमा अनुरोध गरिसक्दा समेत यसतर्फ कसैको चासो नगएको उनको गुनासो छ ।

एक्स्पोको अवधिमा ६ वटा थिममा २१ वटा प्राविधिक सत्रहरू सञ्चालन गरिएको उनले बताए । उनका अनुसार एक्स्पोमा उत्पादन लागत घटाउन, लगानी बिस्तार गर्न, अग्र तथा पृष्ठ अन्तरसम्बन्ध कायम गर्न तथा नवप्रवर्तक उद्यमशीलताको विकासका लागि नीतिगत रुपमा सम्बोधन गर्नुपर्ने विषयहरूमा छलफल भएका छन्  । ५७ जना विज्ञहरूको उपस्थितिमा भएको प्रत्येक थिमेटिकल सेसनमा देखिएको उल्लेख्य सहभागिता र विज्ञहरुबाट भएको प्रस्तुतीले एक्स्पोलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन सफल भएको प्याकुरेलको दाबी छ ।

एक्स्पोमा उद्योग व्यवसायको व्यवसायिक स्वास्थ्य परीक्षण, तदनुरूपको परामर्श सेवा, रोजगारीका लागि वृत्ति विकास मार्ग निर्देश, सीप विकास तालिमको अवसर, निजी उद्योगहरूमा अन द स्पष्ट रोजगारको अवसर पनि मिलेको उनले बताए । समापन कार्यक्रममा उत्कृष्ट उद्यमीहरूलाई पुरस्कृत गरिएको छ । जसमा कृषितर्फ सनम फलफुल प्रशोधन उद्योग, उद्योगतर्फ अरिहन्त मल्टिफाइवर्स लिमिटेड, व्यापार अटोमोबाइल होटल तर्फ चन्द्रमा कोसेली तथा मसला उद्योग र प्रायोजक र पेभेलियन अन्तर्राष्ट्रियतर्फ क्याजिक फुटवयर पुरस्कृत भएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!