- संगालोखबर सम्बाददाता

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भएका छन् । उनी तेस्रो पटक प्रधानमन्त्री बनेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतवार साँझ दाहाललाई मुलुकको ४४ औं प्रधानमन्त्रीका रुपमा नियुक्त गरेकी हुन् ।

Advertisement

नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम राष्ट्रपति भण्डारीले दाहाललाई प्रधानमन्त्री नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा दाहाल प्रधानमन्त्री बनेका हुन् । उनलाई तीन जना स्वतन्त्र सांसदले पनि समर्थन गरेका छन् । २७५ सदस्यीय प्रतिनिधिसभामा उनको समर्थनमा १६९ सांसद भएका छन् ।

दाहाल यसअघि दुई पटक प्रधानमन्त्री भएका थिए । पहिलो पटक २०६५ साउनदेखि २०६६ वैशाख २१ गतेसम्म उनी प्रधानमन्त्री थिए । त्यसपछि २०७३ साउन १९ देखि २०७४ जेठ २३ गतेसम्म उनले प्रधानमन्त्रीको कार्यभार सम्हालेका थिए । कांग्रेससहितको सत्ता गठबन्धनमा सहभागि दाहाल अन्ततः एमालेसहितका दलको समर्थनमा प्रधानमन्त्री बनेका हुन् । सरकार गठनका लागि राष्ट्रपति भण्डारीले आइतवार साँझ ५ बजेसम्मको समय सिमा दिएकी थिइन् ।

सोही बमोजिम सरकार बनाउँने कसरतमा दलहरु लागेका थिए । आइतवार दिउँसो भएको बैठकमा कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुवै पद नछोड्ने अडान राखेपछि दाहाल एमाले अध्यक्ष ओली निवास पुगेका थिए । ओली निवासमा भएको बैठकमा सहमति जुटेपछि कांग्रेससँगको गठबन्धन तोड्दै दाहाल प्रधानमन्त्री बनेका हुन् । सहमति अनुसार दाहालले साँढे २ बर्ष प्रधानमन्त्री पद सम्हाल्ने छन् । त्यसपछि साँढे २ बर्ष ओली प्रधानमन्त्री बन्ने सहमति भएको छ ।

नवनियुक्त प्रधानमन्त्री दाहालले सोमबार सपथ ग्रहण गर्दैछन् । दिउँसो ४ बजे राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति भण्डारीले दाहाललाई सपथ ग्रहण गराउँने राष्ट्रपति कार्यालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!