- ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)

ई.सं. २०२२ डिसेम्बर २४ नेपाल सम्बत ११४३ पोहेलाथ्व पारु, नल नामक संवत्सर, सूर्य दक्षिणायन हेमन्त ऋतु,पुष शुक्ल प्रतिपदा, चन्द्रमा धनु राशिमा पूर्वाषाढा नक्षत्र, वृद्धि योग, बव करण । नेपालमा सूर्र्याेदय बिहान ६ः५१ बजे, सूर्यास्त साँझ ५ः१५ बजे हुनेछ । आज जन्म लिने बच्चा धनु राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुख्मा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ८ बजेर ९ मिनेट देखि ९ बजेर २७ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ ।आज तोल ल्होसार रहेको छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

Advertisement

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
शान्त र स्थिर मतिको उदय हुनेछ, परोपकारी समय हो, प्रेम र भाइचारालाई समेत जीवन्त तुल्याउन सकिने छ । ठूलाबडाको सहयोग लिन सके नबन्ने काम पनि बन्नसक्छ । राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ, विभिन्न अवसर प्राप्त हुनाका साथै उच्च अधिकृतहरूसँग उठबस र मित्रता हुनसक्ने समय हो । त्यस्तो सुनौलो पल र समय बित्नेछ, जसले गर्दा प्रेमीप्रेमिकाको सामीप्य अझ नजिकिने तथा प्रेमसम्बन्ध गाढा बन्ने अनुकूलता मिल्नेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
प्रतिष्ठा र सम्मानमा अभिबृद्धि हुनेछ । कुनै धार्मिक, ऐतिहासिक महत्त्वको क्षेत्रको भ्रमण पनि हुनसक्छ, तर सानातिना बिमारी र चोटपटकको सम्भावना छ । करियर वा कामधाममा कुनै किसिमको बाधा देखिएको छ भने तनाव लिनुको सट्टा कामको गुणस्तर सुधारका लागि प्रयास गर्नु राम्रो हुन्छ । कुरा काट्ने र विरोध गर्नेले षड्यन्त्रको तानाबुना रच्न खोज्दैछन्, अझ परिवारका सदस्य र आफन्तको गतिविधिसमेत सन्तोषजनक नहुँदा खिन्नता बढ्ने परिस्थिति छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आन्तरिक प्रतिभा र क्षमतालाई बाहिर निकाल्ने समय हो । लुकेको कलात्मक प्रतिभाको प्रस्फुटन हुनसक्ने राम्रो दिन छ । प्रियजनसँगको भेटघाटले वातावरण रमाइलो बन्नेछ, कार्यक्षेत्रमा सबैको सहयोग प्राप्त हुनाले ताकेको कामबाट छिट्टै फुर्सद पाइने छ र नयाँ काममा हात हाल्ने मानसिकतासमेत बन्नसक्छ । मन हलुका र शरीर तन्दुरुस्त रहने दिन हो, काम छाडेर गफगाफमा वा रमझममा भुलिने समय छ, रामरमाइलो त्यागेर काम र प्राथमिकताउपर ध्यान दिनुहोला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आपसी समन्वय र भेटघाटको राम्रो दिन छ, तर कुनैकुनै कुरामा तपाईंको हठ र जिदले नरमाइलो गर्नसक्छ । व्यक्तित्व विकासका निमित्त राम्रो अवसर प्राप्त हुनेछ । तोकिएको काम समयमै सम्पादन गर्न सकिने र थप आयआर्जनका लागि मन उत्सुक हुने समय छ । स्वास्थ्यक्षेत्र, काठपात, ढुंगागिट्टी, मिलमेसिनरी र ढुवानीसम्बद्ध कारोबारीले आयस्रोत बढाउन सक्नुहुन्छ, तर कार्यक्षेत्रमा विभिन्न चुनौती र सङ्घर्ष झेल्नुपर्ने हुन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
टाढा रहेका छोराछोरीमार्फत राम्रो समाचार आउने तथा सुख÷सन्तोष मिल्ने राम्रो दिन छ । आफूले चिताएका हाँके÷ताकेका काम पनि सम्पन्न हुने समय हो । सीपमूलक शिक्षा र प्राविधिक विषयमा आफ्नो क्षमता प्रदर्शन गर्ने दिन हो, परिश्रमी र लगनशील भएमा मात्र भाग्यले समेत साथ दिनेछ । बौद्धिक क्षेत्र, चिन्तनमनन र दार्शनिक विषयमा सक्रियता देखाउने समय हो, आफू स्वयंले वा छोराछोरीका माध्यमबाट कुनै फाइदामूलक काम बन्नसक्छ, तर मन भावुकता र आनन्दप्राप्तिका लागिसमेत आकर्षित बन्नसक्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
गुरुजनको मार्गदर्शन अवलम्बन गर्दा अनुभवलाई तिखार्ने अवसर मिल्नेछ, त्यस्तै आमाको आशीर्वादले हरेक काममा सफलता दिलाउनेछ । आवेगहरूमा नियन्त्रण गर्न नसक्नाले निराशा र खिन्नताको अनुभूति हुनसक्छ, अतः आफ्ना लागि समय प्रदान गर्नु र चिन्तन गरी वर्तमान समस्याको हल गर्ने प्रयास गर्नु उपयोगी हुनेछ । व्यस्ततामा दिन बित्नेछ, तथापि कामको चापबाट फुर्सद निकालेर आज केही समय घरपरिवार र छोराछोरीका लागि छुट्याउनु राम्रो हुन्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सञ्चारमाध्यमबाट खुसी हुने समाचार प्राप्त हुनेछ । मन एकतमासको बनिदिनाले बुद्धि र विवेकको सही प्रयोग गर्न सकिंदैन, तर पनि आजको दिन आशावादी नै बन्ने समय हो । साझेदार र सहकर्मीको सुझाव लाभदायी ठहरिने छ । कामधन्दा छोडेर सामाजिक क्रियाकलापमा सक्रिय भइने छ, तथापि चुस्तदुरुस्त व्यवस्थापनका कारण बेफाइदा हुनेछैन । साथीभाइ र इष्टमित्रसँग हाँसखेल र कुराकानी गर्ने दिन हो । रामरमाइलोमा दिन बित्नेछ । कुनै सामाजिक वा परोपकारी काममा दिलचस्पी जाग्नेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
धनको सहजता देखिए पनि खर्च गर्नुपर्दा होस राखेर चल्नुपर्ने समय छ । अनावश्यक खर्च बढाउनुभन्दा ऋण वा उधारो चुक्ता गरी आर्थिक स्वतन्त्रतातर्फ ध्यानकेन्द्रित गर्नु जरुरी देखिन्छ । कार्यक्षेत्रमा परिवर्तनको धारणा आउनसक्छ, आयका मार्ग सुचारु गर्न र थप आयश्रोत बढाउन चिन्तन गर्ने समय छ । एकआपसमा भेटघाट हुने र रमाउने वेला छ, तर बोल्दा निकै विचार पुर्याउनु होला, नत्र ससाना कुरामा पनि नोकझोक बढ्न सक्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
काममा प्रगति हुने समय छ, तर एकोहोरोपन, जिद्दीपन र घमण्ड आजका शत्रु हुन् भन्ने बुझेर आफूलाई संयम बनाएर काम गर्ने दिन हो । पार्टनरबाट कुनै कुराको अपेक्षा गरेको जाती हुन्छ, कुनै व्यक्तिगत समस्या छ भने पनि बताएमा सही निकास पाउन सक्नुहुन्छ । व्यवहारिक र लचिलो हुने प्रयास गर्नु राम्रो हुन्छ । बाध्यात्मक परिस्थितिले अलमल्याउन सक्छ । अरुको विश्वास गर्दा धोका पाइने छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मार्केटिङ, यातायात व्यवसायी र ढुवानीको क्षेत्रमा केही लाभ लिने समय हो, तर पनि आर्थिक विषयले तनाव बढ्नेछ । व्यस्तता र दौडधूपमा समय बित्नेछ, उता व्ययभार बढ्ने दिन भएकाले तालसाँचो र राखनधरनमा सतर्कता अपनाउनु होला । अल्छीपना देखिन्छ, शरीर भारी भएकाले कुनै पनि काम पूरा नहुन सक्छन्, मानसिक शान्ति र विश्रामप्रति आकर्षित बन्दा राम्रो हुन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
घरजग्गा व्यवसायीले कुनै लाभदायक सम्झौता गर्नसक्छन्, तर सहकार्यमा कुनै काम गर्दै हुनुहुन्छ भने अर्काको भरमा मात्र ढुक्क पर्नु ठीक हुँदैन । जीवनसाथीका साथमा कतै घुमघाममा जाने वा किनमेलमा निस्कने योजना बनाउनुहोस्, जसले तपाईंको निरस जीवनलाई स्वस्थ तुल्याउनेछ । रिजल्टको प्रतीक्षामा हुनुहुन्छ भने आशाअनुरूप परिणाम प्राप्त हुनेछ । आशावादी बनेर लक्ष्यप्रति केन्द्रित भएमा हाँके÷ताकेका काम पूरा गर्न सजिलो हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
दिन नरमाइलो छैन, यद्यपि काममा सक्दो खट्नुपर्ने दिन हो । अन्त्यसम्म व्यस्त रहनु पर्नेछ, तर मिहिनेत गरेअनुसार राम्रै प्रतिफल हात लागी हुनेछ । व्यक्तिगत काममा खट्नुपर्दा अधिकांश समय व्यतीत हुनेछ, पार्टनरको चाहनाअनुसार समय दिन नसक्दा केही अप्ठ्यारामा पनि पर्न सक्नुहुन्छ, त्यसैले फोनमा कुराकानी गर्नु ठीक हुनेछ । परिणामप्रति आशावादी भइने छ । कार्यक्षेत्र वा बन्दव्यापारमा राम्रो छ । महत्त्वपूणर् व्यक्तिका साथमा सम्पर्क बढ्नेछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!