काठमाडौं । मोरङको क्षेत्र नं.३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले आज संसद् भवनमा सपथ ग्रहणका क्रममा भागवत गीता छोएर भ्रष्टाचार नगर्ने अठोट गरेका छन् । सांसदहरूको सपथ ग्रहणका क्रममा डा.शर्माले पद तथा गोपनीयताको सपथसँगै भ्रष्टाचार नगर्ने अठोट पनि गरेका हुन् ।
चुनावी अभियानका क्रममा उनले भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानु सरह हुने भन्दै भ्रष्टाचार नगर्ने उद्घोष गरेका थिए । सोही अनरुप उनी कसम खानका लागि भागवत गीता बोकेरै संघीय संसद् भवन नयाँ बानेश्वर पुगेका थिए । शर्मासहित सबै निर्वाचित सांसदहरूलाई ज्येष्ठ सदस्य राप्रपाका सांसद पशुपतिशमशेर जबराले सपथ ग्रहण गराएका हुन् । सोही क्रममा सांसद शर्माले भागवत गीता छोएर भ्रष्टाचार नगर्ने कसम पनि खाएका हुन् । भागवत गीता साक्षी राखेर खाएको कसम साचो हुने धार्मिक मान्यता छ । भागवत गितामा कृष्णले अर्जुनलाई सत्यको पक्षमा लाग्न र असत्य, अन्याय, अत्याचारको विरुद्धमा लड्न शिक्षा दिएको हुनाले सोही मार्ग पछ्याउँदै आफूले पनि भागवत गितालाई साक्षी राखेर कसम खाएको सांसद शर्माको भनाई छ ।
पछिल्लो समय नेपाली राजनीतिमा झुट र भ्रष्टाचार मैलाएकाले सत्य र भ्रष्टाचाररहित राजनीतिलाई प्रश्रय दिन भागवत गीता छोएर भ्रष्टाचार नगर्ने कसम खाएको सांसद शर्मा बताउँछन् । ‘अहिले नेपाली राजनीतिमा झुट र भ्रष्टाचार मौलाउँदै गएको छ । म सत्य र भ्रष्टाचाररहित राजनीति गर्नुपर्छ भन्ने मान्यता राख्छु,’ डा.शर्मा भन्छन्, ‘मैले संसद् भवनमै गीता छोएर कसम खाएको छु, म कुनैपनि हालतमा भ्रष्टाचार गर्दिन ।’
समाजसेवी व्यक्तिको पहिचान बनाइसकेका डा.शर्माले राजनीतिलाई कमाई गर्ने थलोको रुपमा नभई जनताको सेवा गर्ने क्षेत्रका रुपमा स्थापित गर्नुपर्ने बताउँदै आएका छन् । उनले यसअघि नै सांसदको तलब भत्ता नलिई जनताको सेवा गर्ने घोषणा समेत गरिसकेका छन् । पूर्वमन्त्रीसमेत रहेका एमाले उम्मेद्वार भानुभक्त ढकाललाई २२ हजार ७ सय ३६ मतान्तरले हराउँदै डा.शर्मा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । कांग्रेस उम्मेद्वारहरुमध्ये सबैभन्दा बढी मतान्तरले बिजयी भएर डा.शर्माले पार्टीभित्र नयाँ रेकर्ड पनि कायम गरेका छन् ।