- संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

पर्सा । पर्सामा महिलाको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । बुधबार बिहान साढे ५ बजे वीरगन्ज महानगरपालिका–२७ जसौलीस्थित सडकमा स्थानीय ३० वर्षीया रिंकुकुमारी मृत फेला परेकी थिइन् । उनको हत्या गरेको आरोपमा प्रहरीले रिंकुका श्रीमान ३४ वर्षीय कुशल दास र देवर २८ वर्षीय भरतलाई पक्राउ गरेको हो ।

प्रहरीले बिहान सडकमा एक महिला लडिरहेको भन्ने खबर पाएको थियो । घटनाको जानकारी पाएपछि प्रहरी टोली घटनास्थल गएको थियो । रिंकुकुमारी घर अगाडिकै कच्ची बाटोको किनारमा टाउको किचिएको अवस्थामा मृत फेला परेकी थिइन् ।

Advertisement

सुरूमा घटनास्थल हेर्दा रिंकुलाई गाडीले किचेको जस्तो देखिन्थ्यो । धेरै गाडी नगुड्ने भित्री सडकमा कसले ठक्कर दिएर गयो भन्नेबारे पनि प्रहरी अनुसन्धान गर्यो । उनका श्रीमानलाई सोधपुछ गर्दा पनि गाडीले नै ठक्कर दिएको भन्ने बताइरहेका थिए । तर प्रहरीले शव हेर्दा हातमा करेन्ट लागेको पनि देखेको थियो ।

प्रहरीका अनुसार रिंकुको बायाँ हत्केलामा करेन्ट लागेर पोलेको दाग थियो । घरको कोठाभित्र पसेर हेर्दा तारहरू देखियो जसलाई नयाँ टेपले टालेको थियो । पुरानो तारको टेप निकालेर छेवैमा राखिएको र प्लास्टिकको पन्जा थियो ।

शव पनि शंकास्पद अवस्थामा भेटिएको र कोठाभित्र पनि यस्तो देखेपछि प्रहरीले श्रीमानसँग सोधपुछ गर्न थाल्यो । सबै प्रमाणहरु बताउँदै प्रहरीले कुशलसँग सोधपुछ गर्न थाल्यो । सोही क्रममा उनले हत्या गरेको स्वीकार गरे ।

उनका अनुसार कुशलले आफ्नै कोठामा श्रीमती रिंकुलाई करेन्ट लगाएर हत्या गरेका हुन् । यसरी हत्या गर्नेबारे उनले पूर्वयोजना बनाएकोसमेत प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । कुशलले रिंकु परपुरूषसँग लागेको भन्ने शंका गर्थे । त्यही शंकाले उनीहरूबीचको सम्बन्ध बिग्रिएको थियो । उनीहरू घरमा पनि अलग अलग बस्थे । मंगलबार मध्यराति भने रिंकुलाई आफू भएको ठाउँमा बोलाएर कुशलले हत्या गरेका हुन् । हत्यापछि उनले उक्त शवलाई यत्तिकै राखेनन् । शव व्यवस्थापन गर्न र आफू हत्याबाट जोगिन भाइ भरतको सहयोग मागे । दाजुभाइ दुवै जना सवारी चालक हुन् । कुशल ठूला सवारीसाधन चलाउँछन् भने भाइ कुखुरा बोक्ने सानो गाडी चलाउँछन् ।

उनीहरूले सरसल्लाह गरी भरतले चलाउने ना. ३ च ६२४७ नम्बरको कुखुराको चल्ला बोक्ने गाडी ल्याएर शव सडकमा निकाली गाडीले टाउकोमा किचेको प्रहरीको भनाई छ । त्यसपछि गाडी वीरगन्ज–१७ अलौस्थित शिवम ह्याचरीभित्र लुकाएर राखेका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!