संगालोखबर सम्वाददाता

विराटनगर । राष्ट्रपति विद्यादेवी भण्डारीले औद्योगिक क्षेत्रका समस्या समाधान गर्न सरकारलाई आग्रह गरेकी छन् । विराटनगरमा बिहिबारबाट सुरु भएको विराट एक्स्पो उद्घाटन कार्यक्रमलाई संवोधन गर्दै राष्ट्रपति भण्डारीले औद्योगिक क्षेत्रका समस्या समाधान गर्न सरकारलाई आग्रह गरेकी हुन् ।

Advertisement

राष्ट्रपति भण्डारीले विगतमा देशको प्रमुख औद्योगिक क्षेत्र रहेको विराटनगर पछिल्ला वर्षहरूमा आफ्नो गौरव कायम गर्न संघर्ष गरिरहेको बताइन् । उनले आगामी दिनमा औद्योगिकरणका लागि विराटनगरले देशलाई नै सन्देश दिन अग्रसर हुने विश्वास पनि व्यक्त  गरिन् । विराटनगरमा आर्थिक तथा औद्योगिक विकासको धेरै सम्भावना रहेको बताउँदै उनले रानी–किमाथांका सडकले विराटनगरलाई भारत र चीनसँग सोझै जोड्ने भएकाले औद्योगिक क्षेत्रका लागि यसले सहजता प्रदान गरेको बताइन् ।

उनले औद्योगिक कच्चा पदार्थका लागि आयातमै निर्भर रहनुपर्ने अवस्थाको अन्त्य गरी स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगहरू स्थापना गर्नुपर्ने आवश्यकता औँल्याइन् । राष्ट्रपति भण्डारीले उद्योगलाई चाहिने कच्चा पदार्थ देशभित्रै उत्पादन गर्न किसान र उद्योगीबीच समन्वयको खाँचो पनि औँल्याइन् ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मुलुक विगतमा भन्दा फरक किसिमको आर्थिक मन्दीबाट गुज्रिरहेको बताए । उनले विगतमा भूकम्प, कोरोना र नाकाबन्दीले अर्थतन्त्रमा बाहिरबाट समस्या देखिएको भएपनि अहिले सरकार र राष्ट्र बैंकको नीतिका कारण अर्थतन्त्रभित्रै समस्या देखिएको बताए ।

उद्योग संगठन मोरङका अध्यक्ष सुयस प्याकुरेलले देशका लागि निर्यात वृद्धि गर्ने र आयात प्रतिस्थापन गर्ने उद्योग चाहिएको बताए । प्याकुरेलले कोभिडपछिको मन्दीले सबै उद्योग प्रभावित भएकाले समग्र अर्थतन्त्रमै समस्या देखिन थालेको प्रष्ट पारे । विराटनगर–बथनाहा रेल्वे तयार भएपनि सञ्चालनमा सरकारले बेवास्था गरेको गुनासो गर्दै प्याकुरेलले सोही कारण सडक मार्गबाट सामान आयात गर्नुपर्दा औद्योगिक कच्चा पदार्थको ढुवानीमा मात्रै ३० प्रतिशतभन्दा बढी लागत बढी लागिरहेको बताए । उनले यथाशक्य छिटो विराटनगरसम्म रेलमार्ग सञ्चालन गर्न माग पनि गरे ।

कार्यक्रममा प्रदेश १ का प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री राजेन्द्र राई, विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालालगायतले एक्स्पो सफलताको शुभकामना दिएका थिए । उद्योग संगठन मोरङको आयोजनामा विराटनगर–१४ स्थित डिग्री कलेजको मैदानमा एक्स्पो आयोजना गरिएको हो । पुस ६ गतेसम्म सञ्चालन हुने एक्स्पोमा ३ सय ६१ स्टल राखिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!