- संगालोखबर सम्वाददाता

विराटनगर । विराटनगर महानगरपालिकाले स्थानीयस्तरमै पुगेर जनताका समस्या बुझ्ने र कर संकलन गर्ने अभियान थालेको छ । आन्तरिक आयलाई बलियो बनाएर विकास निर्माणका कामलाई गति दिन महानगरले अभियान सञ्चालन गरेको हो ।

Advertisement

महानगरका मेयर नागेश कोइरालाले मंगलबार अभियानको शुभारम्भ गरे । विराटनगर–४ स्थित ढाटबाट मेयर कोइरालासहित उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाको उपस्थितिमा अभियान सुरु गरिएको हो । अभियानअन्तर्गत सम्पत्ति कर, बहाल कर, व्यवसाय कर, दर्ता, नवीकरण, नक्सा पास गरे/नगरेको र फोहोरको सदस्य बने/नबनेको हेरिने राजस्व महाशाखा प्रमुख सरोज गौतमले जानकारी दिए ।

पहिलो चरणमा वडा नम्बर १, ३, ४, ५ र १० मा अभियान सञ्चालन हुनेछ । महानगरले चालु आर्थिक वर्षमा ८७ करोड आन्तरिक आम्दानी गर्ने लक्ष्य लिएको छ । तर, सोचेजस्तो कर संकलन नभएका कारण अभियान सञ्चालन गर्नुपरेको मेयर कोइरालाले बताए । सबैको साथ र सहयोगले कर अभियान प्रभावकारी हुने उनको भनाइ छ ।

‘महानगरको अहिलेको जुन आन्तरिक आम्दानी छ त्यसबाट विराटनगरवासीको इच्छा र चाहना परिपूर्ति गर्न असम्भव छ,’ उनले भने, ‘आन्तरिक राजस्व अभिवृद्धि गरी विकास निर्माणलाई तीव्रता दिन अभियान सञ्चालन गरेका हौं । यो अभियानलाई साथ दिन सम्पूर्ण महानगरवासीलाई आग्रह गर्दछु ।’

उनले जनताबाट संकलित राजस्व एक पैसा पनि तलमाथि हुन नदिने प्रतिवद्धता पनि जनाए । सुशासन, पारदर्शिता र जवाफदेहितालाई प्रमुखताका साथ लिएर अगाडि बढ्ने मेयर कोइरालाको भनाई छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!