- संगालोखबर सम्वाददाता

विराटनगर । नव निर्वाचित प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले मोरङको सुन्दरहरैंचा नगरपालिका ९ स्थित राम आधारभूत विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा र शैक्षिक सामाग्री प्रदान गरेका छन् । चुनावका बेला गरेको बाचा पुरा गर्दै डा.शर्माले आफू निर्वाचित भएपछि व्यक्तिगत रुपमा विद्यार्थीलाई सहयोग गर्नुका साथै विद्यालयका तीन वटा कक्षा कोठामा कार्पेट पनि बिच्छाइदिएका हुन् ।

सांसद शर्माले व्यक्तिगत तवरबाट विद्यार्थी र विद्यालयलाई करिब तीन लाख मूल्य बराबरको सहयोग प्रदान गरेको विद्यालयका प्रधानाध्यापक दिलकुमार श्रेष्ठले बताए । कक्षा ५ सम्म पढाई हुँदै आएको सो विद्यालयमा १६९ विद्यार्थी अध्ययनरत छन् । त्यहाँ अधिकांश दलित र जनजाति समुदायका विपन्न परिवारका विद्यार्थीहरू अध्ययन गर्ने गर्छन् ।

विद्यालयमा अध्ययनरत सबै विद्यार्थीहरूलाई डा.शर्माले एकसरो न्यानो कपडा, छ/छ थान कपी र १०/१० वटा कलम प्रदान गरेका हुन् । त्यस्तै, विद्यार्थीको पढाईमा सहजताका लागि बाल विकास केन्द्रको एउटा कोठा र कक्षा एकको दुई वटा कोठामा बाक्लो कार्पेट पनि बिच्छाइएको हो ।

सहयोग प्रदान गर्न विद्यालयमा कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा सांसद शर्माका बुबाआमा लोकनाथ र होमादेवी न्यौपानेले छोराको तर्फबाट विद्यार्थीहरूलाई न्यानो कपडा र शैक्षिक सामाग्री प्रदान गरेका छन् । चुनावको बाचा अनरुप विद्यार्थीहरूलाई सहयोग प्रदान गरिएको सांसद शर्माकी धर्मपत्नी एवं नोबेल अस्पतालका प्रबन्ध निर्देशक इन्दिरा शर्माले बताइन् । शर्मा दम्पतीको वैवाहिक बर्षगाँठको अवसर पारेर सहयोग प्रदान गरिएको हो ।

डा.शर्माले चुनावका बेला गरेका बाचा भटाभट पुरा गर्दै गरिरहेका छन् । चुनावी बाचा अनरुप उनले आफु निर्वाचित भएको भोलिपल्टै नोबेल अस्पतालमा ५० शैयाको क्याबिन चुनावी क्षेत्रका जनतालाई निःशुल्क प्रयोगका लागि छुट्याइदिएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!