संगालोखबर सम्बाददाता

धनकुटा । धनकुटा नगरपालिका–६ पाङसिङका एमाले कार्यकर्ता राजन कार्कीमाथि कुटपिट गरेको आरोपमा कांग्रेसका धनकुटा नगर सभापति नरेश श्रेष्ठसहित दुई जना पक्राउ परेका छन् । ज्यान मार्ने प्रयास गरेर कार्कीमाथि निर्घात कुटपिट गरेको अभियोगमा प्रहरीले नगर सभापति श्रेष्ठसहित नगर सदस्य शिव पुजन शाहलाई पनि पक्राउ गरेको हो ।

Advertisement

दुवै जनालाई पक्राउ गरी उनीहरूविरुद्ध जिल्ला अदालतमा ज्यान मार्ने उद्योगमा मुद्दा दायर गरिएको धनकुटाका प्रहरी प्रमुख एसपी लक्ष्मीराज अधिकारीले बताए । ‘दुवै जनालाई यही बजारबाट पक्राउ गरी मुद्दा दायर गरेर घटनाको विषयमा थप अनुसन्धान गरिरहेका छौं,’ एसपी अधिकारीले संगालोखबरसँग भने । एमालेको विजय जुलुसमा सहभागि भएर फर्कने क्रममा गत मंसिर ८ गते राती धनकुटा–६ सल्लेरीस्थित आँखा अस्पताल अगाडि एमाले कार्यकर्ता कार्कीमाथि कुटपिट भएको थियो । घाइते कार्कीले कांग्रेस नगर सभापति श्रेष्ठसहितको समूहले आफूमाथि कुटपिट गरेको बताएका थिए ।

पीडित पक्षले उनीहरूविरुद्ध किटानी जाहेरी दिएको थियो । सुरुमा प्रहरीले उजुरी लिन नमानेपछि एमाले निकट राष्ट्रिय युवा संघले विरोध प्रदर्शन गरेको थियो । यता, नगर सभापति श्रेष्ठले आफूमाथि झुटो आरोप लगाएर फसाउँन खोजेको बताउँदै आएका छन् । झुटो आरोप लगाइएको भन्दै कांग्रेस निकट तरुण दल र नेवि संघले बजारमा प्रदर्शन पनि गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!