- संगालोखबर सम्बाददाता

धनकुटा । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा एमालेले धनकुटामा ‘क्लीन स्वीप’ गरेको छ । प्रतिनिधि सभा र प्रदेश सभाका सबै सिट जित्दै एमालेले ‘क्लीन स्वीप’ गरेको हो । धनकुटामा प्रतिनिधि सभाको एक र प्रदेश सभाको दुई क्षेत्र छन् । यी तीन वटै क्षेत्रमा एमालेले विजय हासिल गरेको छ ।

२०७४ को निर्वाचनमा पनि ‘क्लीन स्वीप’ गरेको एमालेले पुनः यस पटक पनि जिल्लामा शानदार जित निकाल्न सफल भएको हो । अघिल्लो निर्वाचनमा बिजयी भएका तीनै जना सांसदलाई पुनः सोही ठाउँमा उम्मेद्वार बनाएर चुनावमा होमिएको एमालेले सफलता हासिल गरेको छ । जितसँगै धनकुटामा प्रतिनिधि सभा सदस्य र दुवै क्षेत्रका प्रदेश सभा सदस्य दोस्रो कार्यकालका लागि दोहोरिएका छन् । प्रतिनिधि सभा सदस्यमा एमाले केन्द्रिय सदस्य राजेन्द्र राई, प्रदेश सभा क्षेत्र नं.१ मा एमाले जिल्ला सचिव निरन राई र क्षेत्र नं.२ मा जिल्ला अध्यक्ष इन्द्रमणी पराजुली बिजयी हुँदै दोस्रो कार्यकालका लागि दोहोरिएका हुन् ।

गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेद्वार सुनिल बहादुर थापालाई १ हजार ३ सय ९७ मतान्तरले पराजित गर्दै राई प्रतिनिधि सभा सदस्यमा बिजयी भएका छन् । एमाले धनकुटा इन्चार्जसमेत रहेका राईले ३० हजार १ सय १ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस केन्द्रिय सदस्यसमेत रहेका थापाले २८ हजार ७ सय ४ मत ल्याएका छन् । नेकपा माओवादी केन्द्रको पोलिटब्युरो सदस्यबाट राजीनामा दिएर स्वतन्त्र उम्मेद्वारी दिएका हेमराज भण्डारीले ५ हजार ९ सय २६ मत पाएका छन् ।

यसअघि २०७४ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा पनि राप्रपाका तर्फबाट उम्मेद्वार बनेका थापालाई १० हजार ४ सय ५९ मतान्तरले पराजित गर्दै ३७ हजार ३ सय ३३ मतसहित राई बिजयी भएका थिए । राई र थापाबीचको यो तेस्रो भिडन्त हो । जसमध्ये दुई पटक राईले जित हासिल गरेका हुन् भने २०७० को निर्वाचनमा थापाले जितेका थिए ।

यता, प्रदेश सभा क्षेत्र नं.१ मा गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष अर्जुन राईलाई ६ हजार ७ सय ९२ मतान्तरले पराजित गर्दै एमाले उम्मेद्वार निरन राई बिजयी भएका हुन्  । निरनले १७ हजार १८ मत ल्याएर बिजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी अजुनले १० हजार २ सय २६ मत पाएका छन् । पूर्व मन्त्रीसमेत रहेका जनता समाजवादीका रकम चेम्जोङले ८ हजार २ सय ४७ मत ल्याएका छन् । निरन यसअघि २०७४ को प्रदेश सभा निर्वाचनमा पनि सोही क्षेत्रबाट कांग्रेसका मनोहर नारायण श्रेष्ठलाई ६ हजार ६ सय ४६ मतान्तरले पराजित गर्दै २० हजार ८८ मतसहित प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।

त्यस्तै, प्रदेश सभा धनकुटा क्षेत्र नं.२ बाट एमाले उम्मेद्वार इन्द्रमणी पराजुली १५ हजार ७ सय ९६ मतसहित बिजयी भएका छन् । गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रकी उम्मेद्वार कुसुम कुमारी श्रेष्ठलाई ४ हजार ५ सय ६६ मतान्तरले पराजित गर्दै पराजुली प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् । निकटतम प्रतिद्वन्द्वी श्रेष्ठले ११ हजार २ सय ३० मत ल्याएकी छन् । पराजुली २०७४ को प्रदेश सभा निर्वाचनमा संघीय समाजवादी फोरमका अर्जुन थापालाई १२ हजार ४ सय २१ मतान्तरले पराजित गर्दै प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।

एमालले धनकुटामा २०७४ को प्रदेश र प्रतिनिधि सभासहित स्थानीय तह निर्वाचनमा पनि ‘क्लीन स्वीप’ गरेको थियो । जिल्लाका सात वटै पालिका प्रमुख र उपप्रमुख एमालेकै थिए । पाँच वर्षपछि प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा एमालेले पुनः ‘क्लीन स्वीप’ गर्न सफल भएको छ । तर, यस पटक स्थानीय तह निर्वाचनमा भने गठबन्धनका कारण एमालेको नतिजा केही खच्किएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!